२०८२ असार १७ गते, मंगलवार १६:५१

काठमाडौं –

नेकपा (एकीकृत समाजवादी) ले मुलुकको आर्थिक, सामाजिक तथा अन्य क्षेत्रमा सुधारका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष मागपत्र बुझाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित भेटमा पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितका नेताहरूले मागपत्र बुझाएका हुन् ।

‘सुशासन र रोजगारी, समाजवादको तयारी’ नारासहितको मागपत्रमा कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, पर्यटन, सूचना प्रविधि, पूर्वाधार, सुशासन, विदेश नीति र संविधान पुनरावलोकनका लागि सुझाव समेटिएका छन् । साथै, गत चैत १५ गते तीनकुनेमा भएको घटनामा एकीकृत समाजवादीको कार्यालयमा भएको तोडफोडको उचित क्षतिपूर्तिको माग पनि अध्यक्ष नेपालले गरेका छन् ।

मागपत्र बुझ्दै प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको पूर्वसन्ध्यामा प्राप्त सुझावप्रति धन्यवाद व्यक्त गरे । नीति तथा कार्यक्रमको अन्तिम तयारी भइसकेको उल्लेख गर्दै उनले बजेट निर्माणमा यी सुझाव समेट्ने प्रयास गर्ने विश्वास दिलाए । उनले प्रतिगामी र अतिवादी तत्वहरूका अवाञ्छित क्रियाकलापको विरोध गर्नुपर्नेमा जोड दिए ।

प्रतिनिधिमण्डलमा अध्यक्ष नेपालसहित वरिष्ठ नेता प्रवेश हमाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, उपाध्यक्षहरू प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर, भानुभक्त जोशी, महासचिव घनश्याम भुसाल, सचिव सावित्राकुमारी भुसाललगायत सहभागी थिए । करिब एक घण्टा चलेको भेटमा समसामयिक राजनीतिक विषयमा अनौपचारिक कुराकानी र विगतका घटनाहरूको स्मरण गरिएको थियो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस