२०८२ श्रावण २९ गते, बिहीबार २०:४२

काठमान्डौ —

भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीले वार्षिक अर्बौं रुपैयाँ खर्च गर्ने गरेको पाइएको छ। करिब १,३०० नेपाली विद्यार्थी अध्ययनरत यो विश्वविद्यालयमा स्नातक तहका कम्प्युटर इन्जिनियरिङ, सिभिल इन्जिनियरिङलगायत विषय पढ्न एक विद्यार्थीले होस्टलसहित १९ लाख रुपैयाँभन्दा बढी तिर्नुपर्छ। यस हिसाबले नेपाली विद्यार्थीले किटमा वार्षिक २ अर्ब १४ करोड ७२ लाख रुपैयाँभन्दा बढी खर्च गर्ने अनुमान छ।

तर, यति ठूलो रकम खर्च गरेर अध्ययन गर्न पुगेका नेपाली विद्यार्थीको सुरक्षा र सम्मानप्रति किट प्रशासन संवेदनशील नभएको गुनासो बढ्दो छ। पछिल्लो समय नेपाली छात्रा प्रकृति लम्साल र प्रिसा साहको शंकास्पद मृत्युले विश्वविद्यालयको व्यवहार र सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ। प्रकृति लम्सालको मृत्युमा संलग्न भएको आरोपमा पक्राउ परेका विद्यार्थी एडविक श्रीवास्तवलाई किट प्रशासनले पुरानै पदमा फिर्ता गरेर पुरस्कृत गरेको भन्दै नेपाली विद्यार्थी थप आक्रोशित बनेका छन्।

किटमा अध्ययनरत आधाभन्दा बढी नेपाली विद्यार्थीले नो अब्जेक्सन लेटर (एनओसी) नलिएको पाइएको छ। शिक्षा मन्त्रालयका अनुसार १,३०० मध्ये केवल ५०० विद्यार्थीले मात्र एनओसी लिएका छन्। यद्यपि, भारतमा अध्ययनका लागि एनओसी अनिवार्य नभए पनि विद्यार्थीको सुरक्षा र आधिकारिक शुल्क भुक्तानीका लागि यो व्यवस्था लागु गरिएको छ।

नेपाल सरकारको उदासीनताप्रति पनि विद्यार्थी र अभिभावकले असन्तुष्टि व्यक्त गरेका छन्। प्रकृति र प्रिसाको मृत्युमा नेपाल सरकारले सान्त्वनासम्म दिन नसकेको गुनासो छ। शिक्षा मन्त्रालयका प्रवक्ता शिशिरकुमार सापकोटाले नेपालका विश्वविद्यालयको पाठ्यक्रम र प्रशासनिक जटिलताका कारण विद्यार्थी बाहिरिने गरेको बताए। “हाम्रा विश्वविद्यालयले पाठ्यक्रम र प्राज्ञिक व्यवस्थापनमा ध्यान दिन सकेका छैनन्, जसले विद्यार्थीलाई विदेशतिर आकर्षित गरेको छ,” उनले भने।

शिक्षाविद् प्राध्यापक बालचन्द्र लुइँटेलका अनुसार नेपालका विश्वविद्यालयमा स्वायत्तता खुम्चिनु र सरकारी तथा राजनीतिक हस्तक्षेपका कारण विद्यार्थीले विश्वास गुमाएका छन्। “नेपालका विश्वविद्यालय शासकीय छायाबाट मुक्त हुन सकेका छैनन्, जसले विद्यार्थीलाई बाहिर पलायन हुन बाध्य बनाएको छ,” उनले भने।

भारतको सस्तो शैक्षिक शुल्क, सांस्कृतिक र भाषिक निकटता, प्रवेशाज्ञाको झन्झट नहुनुजस्ता कारणले नेपाली विद्यार्थीका लागि भारत पहिलो शैक्षिक गन्तव्य बनेको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस