२०८२ आश्विन २० गते, सोमबार १६:०२

रोशी खोलाको बाढीले बिपी राजमार्ग अवरुद्ध, एक महिला बेपत्ता

काठमान्डौँ —

अविरल वर्षाका कारण काभ्रेको माप्तीस्थित रोशी खोलामा आएको बाढीले सोमबार राति डाइभर्सन बगाउँदा बिपी राजमार्ग आठ घण्टादेखि अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार रातिदेखि अवरुद्ध राजमार्ग खुलाउन प्रयास जारी छ, तर रोशी गाउँपालिका–१२ मङ्गलटारतर्फको सडकमा थप क्षति पुगेकाले खुलाउन कठिनाइ भएको छ।

प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बिहानैदेखि प्रहरी र स्थानीयको सहयोगमा एकतर्फी राजमार्ग खुलाउने प्रयास भइरहेको बताए। गतवर्ष असोजको बाढीले सोही स्थानमा राजमार्ग बगाएपछि अस्थायी डाइभर्सन बनाइएको थियो। प्रहरीले राजमार्गमा अलपत्र परेका १७ यात्रुको उद्धार गरेको जनाएको छ।

यसैबीच, सोमबार दिउँसोको बाढीमा बेपत्ता भएकी पनौती नगरपालिका–५ सुब्बागाउँकी ३३ वर्षीया रेनुका गिरीको खोजी कार्य आज बिहानदेखि पुनः सुरु भएको छ। मेलाबाट फर्कने क्रममा साँझ ६ बजे ढलमले खोलाको बाढीले उनलाई बगाएको थियो। प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले खोजी जारी राखे पनि सोमबार रातिसम्म उनी भेटिएकी छैनन्।

सोमबारको वर्षाले पनौती बसपार्क आसपासका क्षेत्र डुबानमा परेका छन् भने आलु खेतीमा बाढी पस्दा किसानलाई क्षति पुगेको छ।

पोडकास्ट सुन्नुहोस