काठमाडौँ-
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । शनिवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित मदन—आश्रित स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।
अध्यक्ष नेपालले सिंगो कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने प्रयासमा आफूहरू निरन्तर लागिरहेको उल्लेख गरे । उनले भने, “सकेसम्म हामीले सिंगै आन्दोलनलाई एकताबद्ध बनाउन चाहनुपर्छ । ०३२ सालदेखि नै हामीले विभिन्न समूहलाई एकताबद्ध बनाउँदै आएका छौँ ।” उनले आफ्नो अडान र विचारमा आत्मविश्वास राख्दै विचार र दृष्टिकोण मिल्नेहरूसँग सहकार्य र मोर्चा निर्माण गर्नुपर्नेमा जोड दिए । सम्भव भए पार्टी एकतासम्म पुग्नुपर्ने उनको भनाइ थियो ।

उनले कम्युनिष्ट पार्टीको सिद्धान्त र विचारबाट विचलित नभईकन विकृति र विसङ्गतिसँग जुधेर इमानदार कम्युनिष्टको रूपमा अघि बढ्नुपर्ने बताए । “आफ्नो विचार र अडान ठीक छ भन्ने आत्मविश्वास चाहिन्छ, त्यसको आधारमा शक्तिलाई बलियो बनाउनुपर्छ,” उनले भने ।