२०८२ असार १७ गते, मंगलवार १७:०६

काठमाडौं-

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयलाई लिएर सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेबीचको तनावले गठबन्धन नै धरापमा पर्ने संकेत देखिएको छ। नेपाली कांग्रेस र एमालेबीच गभर्नर कांग्रेस निकट व्यक्तिलाई नियुक्त गर्ने सहमति भए पनि प्रधानमन्त्री केपी शर्मा ओली ले आलटाल गरेको भन्दै कांग्रेस नेताहरूले आक्रोश व्यक्त गरेका छन्।

कांग्रेस नेताहरूले गभर्नर नियुक्तिमा प्रधानमन्त्री ओलीले सहमति विपरीत अवरोध गरेको आरोप लगाएका छन्। गभर्नर सिफारिस समितिका संयोजक अर्थमन्त्री विष्णुप्रसाद पौडेल ले हालसम्म तीन जनाको नाम सिफारिस गर्न समिति बैठक नै नबोलाएको भन्दै कांग्रेसले असन्तुष्टि जनाएको छ। उच्च स्रोतका अनुसार, ओलीकै निर्देशनमा पौडेलले बैठक आह्वान नगरेको कांग्रेसको बुझाइ छ।

गभर्नर नियुक्तिका लागि सोमबार मन्त्रिपरिषद् बैठक बोलाइएको थियो, तर सिफारिस समितिको बैठक नबसेकाले उक्त बैठक स्थगन भएको मन्त्रीहरूलाई जानकारी गराइएको छ। एक मन्त्रीले भने, “गभर्नर नियुक्तिको एजेन्डा थियो, तर सिफारिस समितिको बैठक नबसेको र अर्थमन्त्री बजेटमा व्यस्त भएकाले मन्त्रिपरिषद् बैठक स्थगित भएको हो। समिति बैठक बसेपछि मात्र क्याबिनेट बस्ने सम्भावना छ।”

प्रधानमन्त्री ओलीले गभर्नर नियुक्तिबारे छलफल गर्न कांग्रेस सभापति शेरबहादुर देउवा लाई बालुवाटार बोलाएका थिए, तर देउवा उपस्थित नभएको उच्च स्रोतले जनाएको छ। देउवा निकट स्रोतका अनुसार, गभर्नर नियुक्तिको विषय पहिल्यै टुंगिसकेकाले फेरि छलफल गर्नु अर्थहीन रहेको उनको ठहर छ। स्रोतले देउवाले बालुवाटार नजाने निर्णय लिएको बताएको छ।

स्रोतका अनुसार, कांग्रेस र एमालेबीच डा. विश्व पौडेल लाई गभर्नर नियुक्त गर्ने सहमति भएको थियो, जसका लागि उनलाई सिफारिस समितिबाट राजीनामा गराइएको थियो। तर, समितिको बैठक नबस्दा नियुक्ति प्रक्रिया अड्किएको छ। गभर्नर महाप्रसाद अधिकारी चैत २४ मा अवकाशमा गएपछि राष्ट्र बैंक डेढ महिनादेखि गभर्नरविहीन छ, जुन सामान्यतया एक महिनाअघि नै टुंगो लगाइनुपर्ने प्रक्रिया हो।

यसैबीच, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का विश्वासपात्र जनार्दन शर्मा ले हालै देउवासँग भेट गरेको र कांग्रेस महामन्त्री गगन थापा को अभिव्यक्तिले गठबन्धनमा थप तनाव देखिएको छ। शर्मालाई गठबन्धन भत्काउने र बनाउने माहिर मानिन्छ। थापासहितका नेताहरूले एमालेको गतिविधि ठीक नभएको भन्दै कांग्रेसले ठोस निर्णय लिनुपर्ने दबाब बढाएका छन्।

पछिल्लो समय एमालेले गोकुल बाँस्कोटा लाई जोगाएर कांग्रेस सांसदहरूलाई मुद्दा लगाएको आरोप पनि लागेको छ। सरकारमा रहे पनि कांग्रेस प्रभावकारी भूमिकामा नदेखिएको भन्दै नेताहरूले सभापति देउवामाथि दबाब बढाएका छन्। यद्यपि, देउवाले शर्मासँगको भेट गठबन्धनको विषयमा नभएको प्रष्ट्याएका छन्। विश्लेषकहरूले गभर्नर नियुक्तिको खिचातानी र यी घटनाक्रमलाई गठबन्धन धरापमा पर्ने संकेतका रूपमा लिएका छन्।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस