काठमाडौं-
नेपाली कांग्रेसकी सांसद सिता मिजारले सरकारी कामकाजलाई डिजिटल र कागजरहित बनाउन एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (आईओएमएस) लाई प्रभावकारी रूपमा लागू गर्न सरकारसँग माग गरेकी छिन्। मंगलबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले यो प्रणाली हाल नेपाल सरकारका १३० वटा निकायमा मात्र लागू भएको भन्दै सबै सरकारी कार्यालयमा विस्तार गर्न आग्रह गरिन्।
सांसद मिजारले एकीकृत कार्यालय व्यवस्थापन प्रणालीमार्फत तोक आदेश, टिप्पणी, दर्ता चलानी, हाजिरी, बिदा व्यवस्थापन, अभिलेख व्यवस्थापन, कार्यसम्पादन मूल्यांकनलगायत प्रशासनिक कार्यहरू विद्युतीय माध्यमबाट सञ्चालन गर्न सकिने बताइन्। उनले यो प्रणालीले सेवा प्रवाहको प्रभावकारिता बढाउन, ब्याकडेटमा निर्णय भएको देखाउने प्रवृत्ति रोक्न, मिलेमतो र भ्रष्टाचारजन्य गतिविधि न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरिन्।

“यो प्रणाली तीनै तहका सरकारका सबै निकायहरूमा लागू गर्ने व्यवस्था आगामी बजेटमा विशेष प्राथमिकतामा राख्न म सम्माननीय सभामुखमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु,” सांसद मिजारले भनिन्।
उनको यो मागले सरकारी कामकाजमा पारदर्शिता, दक्षता र जवाफदेहिता अभिवृद्धि हुने अपेक्षा गरिएको छ।