२०८२ श्रावण ३० गते, शुक्रबार १२:४४

काठमाडौं-

राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को लिग चरणको अन्तिम खेलमा चेन्नाई सुपर किंग्सलाई ६ विकेटले पराजित गर्दै सिजनको सुखद समापन गरेको छ। मंगलबार दिल्लीमा भएको खेलमा चेन्नाईले दिएको १८८ रनको लक्ष्य राजस्थानले १७ बल बाँकी छँदै ४ विकेट गुमाएर पूरा गर्‍यो।

राजस्थानको जितमा युवा ब्याटर वैभव सूर्यवंशीले ३३ बलमा ४ चौका र ४ छक्कासहित ५७ रनको आक्रामक पारी खेले। कप्तान सञ्जु सामसनले ४१, यशस्वी जैसवालले ३६, ध्रुव जुरेलले ३१ र सिम्रन हेटमायरले १२ रनको योगदान दिए। चेन्नाईका रविचन्द्रन आश्विनले २ विकेट लिए भने असुल कम्बोज र नुर अहमेदले १-१ विकेट हात पारे।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले २० ओभरमा ८ विकेट गुमाएर १८७ रन बनायो। चेन्नाईको सुरुवात कमजोर रह्यो। ओपनर आयुष महात्रेले २० बलमा ४३ रन (८ चौका, १ छक्का) बनाए पनि अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। डेभन कनवे १० रन र उर्भिल पटेल शून्यमा आउट भए। रविचन्द्रन आश्विन १३ र रवीन्द्र जडेजा १ रनमै पभेलियन फर्किए।

डेवाल्ड ब्रेभिसले २५ बलमा ४२ रन (२ चौका, ३ छक्का) र शिवम दुबेले ३२ बलमा ३९ रन (२ चौका, २ छक्का) बनाउँदै इनिङ्स सम्हाले। कप्तान महेन्द्रसिंह धोनीले १७ बलमा १६ रन (१ छक्का) जोडे। राजस्थानका युद्धविर सिंह र आकाश माधवलले समान ३-३ विकेट लिए भने तुसार देशपाण्डे र वनिन्दु हसरंगाले १-१ विकेट हात पारे।

यो जितसँगै १४ खेलबाट ८ अंक जोडेको राजस्थान तालिकाको नवौँ स्थानमा रह्यो। १३ खेलबाट ६ अंक भएको चेन्नाई दशौँ स्थानमा छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस