२०८२ श्रावण ५ गते, सोमबार १६:१०

काठमाडौं –

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता सम्पन्न भएको छ। एमालेको मुख्यालय च्यासलमा भएको यो भेटवार्ता करिब दुई घण्टा लामो चलेको एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले जानकारी दिए।

छलफल समसामयिक राजनीतिक विषयहरूमा केन्द्रित रहेको बुझिएको छ, यद्यपि विस्तृत विषयवस्तु सार्वजनिक गरिएको छैन। भेटपछि पूर्वराष्ट्रपति भण्डारी च्यासलबाट बाहिरिसकेकी छन्।

भेटवार्तापछि च्यासल परिसरमा पत्रकारहरूले भण्डारीसँग एमालेको सदस्यता नवीकरणको विषयमा प्रश्न गरेका थिए। जवाफमा उनले भनेकी छन्, “सदस्यताको विषय पुरानै हो, नवीकरण भइसक्यो। तर आज सदस्यता नवीकरणको विषयमा कुराकानी भएन।” उनले आजको छलफल राष्ट्रिय राजनीतिक घटनाक्रममा केन्द्रित रहेको बताइन्। “राष्ट्रिय राजनीतिको विषयमा कुराकानी भएको हो,” उनले थपिन्।

यो भेटवार्ताले वर्तमान राजनीतिक परिदृश्यमा एमालेको रणनीति र पूर्वराष्ट्रपतिको भूमिकालाई लिएर विभिन्न अड्कलबाजी सुरु भएको छ। तर, भेटको विस्तृत विवरण नखुलाइएकोले यसको प्रभावबारे थप प्रष्टता आउन बाँकी छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस