काठमाडौं –

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग राष्ट्रिय राजनीतिको बारेमा मात्रै छलफल भएको बताउनुभएको छ ।
आईतवार नेकपा एमाले पार्टी केन्द्रिय कार्यालय च्यासलमा भएको भेटपछि संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पार्टीको सदस्यता नविकरण पहिलै भइसकेको पनि बताउनु भयो । नेकपा एमाले पोलिटब्युरो बैठकमा आफ्ना धारणा राख्ने क्रममा नेताहरुले पार्टीमा सक्रिय रुपमा फर्किएको घोषणा गर्नुभएकी भण्डारीबारे के गर्ने भन्नेबारेमा पार्टी अध्यक्षले छलफल गरेर टुंगो लगाउनुपर्ने धारणा राखेका थिए । नेताहरुको सुझावपछि आईतवार दुई नेताबीच भेट भएको हो ।
पछिल्लो समय भण्डारीलाई एमालेमा सक्रिय रुपमा ल्याउनुपर्ने भन्दै पार्टीका नेताहरुले नै आवाज उठाइरहेका छन् । ओली पक्षधर नेताहरुले भने गौरवमय स्थानमा पुगिसकेको व्यक्तिलाई पार्टीमा सक्रिय भुमिकामा ल्याउन नसकिने बताइरहेका छन् ।