वीरगन्ज-
वीरगन्जको विभिन्न वडामा अहिले देखापरेको कोलेरा जसलाई नेपाली भाषामा हैजा भनिन्छ, यो रोग नेपालको लागि नौलो नभई सयौं वर्ष पहिले देखि देखा पर्दै आएको छ । गिर्वाणयुद्ध विक्रम शाह नेपालको राजा भएको बेला पहिलो पटक हैजाको महामारी नेपालमा फैलिएको विभिन्न विदेशी जनरलहरूमा प्रकाशित लेखहरूमा उल्लेख भएका छन् ।
आजभन्दा २ सय १२ वर्ष अगाडि विक्रम सम्बत १८७० मा पहिलो पटक हैजा रोगको संक्रमण नेपालमा देखा परेको हो । त्यस बेला गिर्वाणयुद्ध राजा रहेको भारतबाट प्रकाशित र चीनबाट सम्पादित हुँदै आएको एशियन पेसाफिक जनरल अफ ट्रोपिक मेडिसिन जनरलमा प्रकाशित लेखमा जनाइएको छ ।
चीनमा रहेको हाइनान मेडिकल विश्वविद्यालयले सम्पादन गर्ने उक्त मेडिकल जनरलले प्रकाशित गरेको लेखमा भारतबाट नेपाल प्रवेश गरेका केही व्यक्तिमा देखापरेको हैजा रोग तराई हुँदै नेपालको राजधानी काठमाण्डौसम्म पुगेको थियो ।
भारतबाट नेपाल भित्रिएको हैजाले त्यस बेला सयकडौं नेपालीको ज्यान लिएको भए पनि त्यसको प्रष्ट प्रमाण अर्थात आधिकारिक डाटा नरहेको जनरलमा उल्लेख छ ।
त्यसपछि नेपालका राजा राजेन्द्र विक्रम शाह भएको बेला विक्रम सम्बत १८८६ मा हैजाको संक्रमण फैलिएको थियो भने १९५० मा पृथ्वीवीर विक्रम शाह राजा भएको बेला र विक्रम सम्बत १९९० मा त्रिभुवन वीर विक्रम शाह राजा भएको बेला हैजाको संक्रमण फैलिँदा सयकडौं व्यक्तिले ज्यान गुमाए पनि त्यसको यकिन तथ्यांक नभएको लेखमा उल्लेख गरिएको छ ।
नेपालमा हैजा महामारी फैलिँदा त्यसमा परी बिरामी भएका वा मृत्यु भएकाको तथ्यांक संकलन नगरिए पनि नेपालको राजा महेन्द्र वीर विक्रम शाह भएपछि विक्रम सम्बत २०१८ सालमा नेपालको तराई–पहाडमा हैजाको महामारी फैलिँदा संक्रमित र ज्यान गुमाएकाहरूको लगत संकलन भएको देखिन्छ ।
राजा महेन्द्रका पालामा एक वर्षसम्म हैजा फैलिएको र त्यसमा परी ३० हजार व्यक्ति संक्रमित भएका थिए भने १ हजार ५ सय भन्दा बढी व्यक्तिको मृत्यु भएको तथ्यांक रहेको छ ।
सोपछि नेपालको राजा वीरेन्द्र वीर विक्रम शाह भएको बेला विक्रम सम्बत २०३१ सालमा हैजा फैलिएको तथ्यहरू भेटिए पनि उक्त महामारीमा परी कति जना नेपाली संक्रमित भए वा कतिको मृत्यु भयो भन्ने यकिन तथ्यांक नरहेको जनरलले जनाएको छ ।
नेपालका प्रधानमन्त्री डा. बाबुराम भट्टराई भएको बेला विक्रम सम्बत २०६९ सालमा पश्चिमी नेपालबाट फैलिएको हैजाको महामारीमा परी १ हजार ५ जना संक्रमित भएका थिए भने ५ देखि १० जना नेपाली नागरिकको मृत्यु भएको सरकारी तथ्यांकमा उल्लेख गरिएको छ ।
नेपालमा प्रजातन्त्र र सोपछि आएको गणतन्त्रमा नेपाली चिकित्सा प्रणालीमा व्यापक सुधार भएको कारण हैजा जस्तो प्राणघातक रोगबाट समेत मृत्यु हुनेको संख्या कम हुँदै गएको तथ्यांकले देखाएको छ ।
विक्रम सम्बत २०७९ सालमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) भएको बेला काठमाण्डौ उपत्यकामा फैलिएको हैजा महामारीबाट ८ सय भन्दा बढी नेपाली नागरिक संक्रमित भएका थिए भने १२ जनाको मृत्यु भएको थियो ।
मेडिकल जनरलले प्रकाशित गरेको उक्त लेखमा आधुनिक चिकित्सा प्रणालीको विकास र नागरिकबीच त्यसको पहुँच बढ्दै गएकाले हैजा कै कारण मृत्यु हुनेको संख्या घट्दै गएको छ । नेपालमा पहिलो पटक विक्रम सम्बत १८७० मा हैजा फैलिँदा त्यसको कारण पानी नै भएको जनरलमा उल्लेख गरिएको छ भने नेपालमा देखिएका हैजाको संक्रमण फैलिनुमा दूषित पानी नै मुख्य जिम्मेवार भएको पाइएकाे छ । व्यक्तिले सेवन गर्ने पानीमा मानव मलको मिसावट भएपछि हैजाको संक्रमण भएको विगतका तथ्यांकले देखाएका छन् ।
वीरगन्जमा हाल देखापरेको झाडा–पखालाको महामारीसँगै फैलिएको हैजाको कारण अहिलेसम्म पत्ता लागेको छैन । नेपाल सरकारका केही निकायले वीरगन्जबाट संकलन गरिएका पानीको नमुनामा हैजाका जीवाणु नभएको दाबी गरे पनि हैजा फैलिनुको कारण भने पत्ता नलाग्दा सर्वसाधारणमा थप चिन्ता बढ्दै गएको छ ।
वीरगन्ज महानगरपालिकाले गरेको पानी परीक्षण होस् वा संघ तथा प्रदेश सरकारले गरेको पानीको परीक्षणमा हैजाका जीवाणु फेला नपरे पनि अस्पतालमा भर्ना रहेका झाडा–पखालाका बिरामीका मलको नमुना परीक्षण गर्दा त्यसमा हैजाका जीवाणु पुष्टि हुँदै आएका छन् ।
तीनै तहका सरकारले संकलन गरेको पानीको नमुना र त्यसको परीक्षण रिपोर्टलाई कतै मेनज गरिएको त होइन भनी आशंकामा वीरगन्जवासी रहेका छन् । पानीको अभाव हुँदा आफ्नाे भोट बैंकको राजनीति गर्दै कार्यकर्तालाई लाभ पुर्याउन जथाभावी डिप बोरिङ गरिएको कारण नै वीरगन्जमा हैजा महामारी देखापरेको आम वीरगन्जवासीको बुझाइ रहेको छ ।
वीरगन्जमा देखापरेको जलसंकटलाई सम्बोधन गर्ने नाममा नेता–मन्त्रीका कार्यकर्ताले जहाँ पाए जसरी पाए डिप बोरिङ गरी नालाको बीचबाट पानीको पाइप तान्दै सर्वसाधारणको घरमा पानी पुर्याएको कारण नै हैजा फैलिएको हुन सक्ने वीरगन्जवासी सार्वजनिक रूपमा आफ्नो अभिव्यक्ति व्यक्त गर्दै हिँडेका छन् ।
यसै विषयमा एक युवतीले खानेपानी मन्त्री र वीरगन्जका मेयरलाई फोन गरी अलि चर्को स्वरमा दायित्व बोध गराउन प्रहरीको खोरमा पुगेको सामाजिक सञ्जालमा सर्वसाधारण खुलेर लेख्ने गरेका छन् ।
वीरगन्जमा हैजाको संक्रमण फैलाउनमा नेता–कार्यकर्ताको लालच प्रमुख मुद्दा भएको वीरगन्जवासीले सामाजिक सञ्जालमा प्रतिक्रिया व्यक्त गरे पनि हैजा फैलिनुको कारण भने न त संघ सरकारले न त प्रदेश सरकारले नै पत्ता लगाउन सकेका छन् । वीरगन्ज महानगरपालिकाको छपकैमा अवस्थित पानी प्रशोधन केन्द्रको ल्याबमा महानगरपालिकाले समेत गरेको पानी परीक्षणमा हैजाका जीवाणु नभेटिएपछि वीरगन्जवासी थप शंकास्पद हुँदै आएका छन् ।
हैजा रोग फैलिनुको कारण पत्ता नलागेसम्म वीरगन्जवासी मात्र नभई यसले वीरगन्जमा आउने आगन्तुक पाहुनाहरूको मनोविज्ञानमा समेत नकारात्मक असर पार्ने निश्चित देखिन्छ । वीरगन्ज नेपालको मुख्य प्रवेशद्वार हो र यस बाटोलाई प्रयोग गरी हजारौं भारतीय पर्यटक नेपाल घुम्न आउने गरेकाले समयमै वीरगन्जमा फैलिएको हैजालाई नियन्त्रण गर्दै यसको स्रोत पत्ता नलगाए क्रमिक रूपमा बढ्दै गएको नेपालको पर्यटन व्यवसायलाई ठूलो असर पार्ने सम्भावना रहेको छ ।
फैलिएको हैजाको महामारीलाई तीनै तहका सरकारले चाँडै नियन्त्रण नगरे यो रोग अन्यत्र फैलिने र अनियन्त्रित हुने सम्भावना बढी रहेको छ । हैजाको महामारी नियन्त्रणमा हेलचेक्राई गरे यसले धजन र जनको ठूलो क्षति गरेको विगतका इतिहासबाट पाठ सिक्न जरुरी रहेको छ ।