काठमाडौं-
तराई–मधेसको प्रमुख आस्था पर्व छठलाई लक्षित गर्दै शान्ति सुरक्षा व्यवस्थापनका लागि ‘अप्रेसन आस्था’ नामक विशेष सुरक्षा योजना लागू गरिएको छ।
मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआइजी गोविन्द थपलिया)का अनुसार छठ पर्वलाई शान्तिपूर्ण, सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गराउन प्रदेशभर यो विशेष अभियान कार्यान्वयनमा ल्याइएको हो।
उनका अनुसार मधेस प्रदेशका आठै जिल्लामा करिब सात हजार सुरक्षाकर्मी परिचालन गरिएको छ। सुरक्षाकर्मीमा ट्राफिक प्रहरी, महिला प्रहरी, मोबाइल पेट्रोलिङ टोली र सादा पोशाकका प्रहरी समेत समावेश छन्।
डिआइजी थपलियाले छठ पर्वको संवेदनशीलतालाई ध्यानमा राखी विशेष सतर्कता अपनाइएको बताउँदै भने, “छठ आस्था र श्रद्धासँग जोडिएको पर्व हो, जनताको विश्वास सुरक्षित राख्न प्रहरी बल पूर्णरूपमा सक्रिय हुनेछ।”
‘अप्रेसन आस्था’ अन्तर्गत मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने, झैझगडा गर्ने, भीडभाडमा अव्यवस्था सृजना गर्नेलगायतका सम्भावित घटनालाई रोकथाम गर्ने उद्देश्य राखिएको छ।
प्रहरीले अत्यधिक भिडभाड हुने छठघाट, तलाउ, नदी किनारा, बजार क्षेत्र र मुख्य राजमार्गहरूमा विशेष सतर्कता अपनाएको छ। साथै, सीसी क्यामेराबाट निगरानी, अस्थायी सुरक्षा चौकी स्थापना र मोबाइल गस्ती टोलीहरूलाई सक्रिय बनाइएको छ।
डिआइजी थपलियाले सार्वजनिक स्थानमा हुलदंगा मच्चाउने वा मादक पदार्थ सेवन गरी सवारी चलाउने व्यक्तिमाथि कडा कारबाही गरिने चेतावनी दिएका छन्।















