२०८२ मंसिर ४ गते, बिहीबार १९:३९

प्रदेश सांसद वीरेन्द्रकुमार सिंहले फाले मधेस प्रदेश प्रमुख कार्यालयको राष्ट्रिय झण्डा

जनकपुर-

मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर सोमबार मुख्यमन्त्री कार्यालयमा तोडफोड भएको छ । नयाँ मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिपछि असन्तुष्ट सात दलका नेता तथा कार्यकर्ताले कार्यालयमा तोडफोड गरेका हुन् ।

कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, जनता समाजवादी पार्टी (जसपा) र नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ताहरु कार्यालयभित्र प्रवेश गरी कार्यकक्षमा तोडफोड गरेको बताइएको छ ।

तोडफोडमा केही सांसदहरूको प्रत्यक्ष संलग्नता रहेको स्रोतले जनाएको छ । सो क्रममा नेपाली कांग्रेसका प्रदेश सांसद वीरेन्द्रकुमार सिंहले कार्यालयमा टाँसिएको नेपालको राष्ट्रिय झण्डा निकालेर फालेका छन् । उक्त भिडियो अहिले सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भएको छ ।

नवनियुक्त मुख्यमन्त्री यादवविरुद्ध सात दलका नेता तथा कार्यकर्ताले नाराबाजी गर्दै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको राजीनामा समेत माग गरेका छन् ।

प्रदेश प्रमुख भण्डारीले उपचारका लागि काठमाडौं जाँदै गर्दा बाटोमै कटेजमा नवनियुक्त मुख्यमन्त्री सरोज यादवलाई पद तथा गोपनीयताको शपथ खुवाएकी थिइन् । सो घटनापछि मधेस प्रदेशमा राजनीतिक तनाव तीव्र बनेको छ ।

पोडकास्ट सुन्नुहोस