२०८२ मंसिर ४ गते, बिहीबार १९:५३

सुशासनका लागि युवाहरूको विद्रोह: पकहाँमैनपुर गाउँपालिकालाई जेनजी र युवा सञ्जालको १५ दिने अल्टिमेटम

पर्सा-

सुशासन, पारदर्शिता र जनउत्तरदायित्वको माग गर्दै पर्साको पकहाँमैनपुर गाउँपालिकाका युवाहरूले आन्दोलनको चेतावनी दिएका छन्। गाउँपालिकाभित्र सेवा वितरण, योजना कार्यान्वयन र प्रशासनिक कामकाजमा देखिएको लापरवाही, अनियमितता र भ्रष्टाचारका घटनाले आक्रोशित बनेका युवाहरूले सोमबार गाउँपालिकामा १५ दिने अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएका हुन्।

जेनजी युवा समूह र पकहाँमैनपुर गाउँपालिका युवा सञ्जालले संयुक्त रूपमा बुझाएको ज्ञापनपत्रमा जनताको आधारभूत आवश्यकता- शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, रोजगारी र सरसफाइका क्षेत्रमा देखिएको कमजोरी तत्काल सुधार गर्नुपर्ने माग गरिएको छ। साथै, पालिकाका योजना छनोट, बजेट वितरण, कामको अनुगमन र सार्वजनिक सुनुवाइ प्रक्रियामा पारदर्शिता सुनिश्चित गर्न पनि आग्रह गरिएको छ।

युवाहरूले गाउँपालिकाले राजनीतिक पूर्वाग्रहका आधारमा ठेक्का वितरण गर्ने, आवश्यक परियोजना सुस्त गतिमा अघि बढाउने र कतिपय ठाउँमा काम अधुरो राख्ने गरेको आरोप लगाएका छन्।

युवा सञ्जालका अध्यक्ष अकलेश कुमार साहले भने, “हाम्रो माग जनताको हितका लागि हो। स्थानीय सरकार जनउत्तरदायी र पारदर्शी हुनुपर्छ। यदि १५ दिनभित्र माग सम्बोधन भएन भने गाउँका नागरिक, विद्यार्थी, किसान र नागरिक समाजसहित सडकमा उत्रिन बाध्य हुनेछौं।”

त्यसैगरी, जेनजी युवा समूहका अध्यक्ष भगवान कुर्मीले भने, “हामी विकास विरोधी होइनौं, तर जनता ठगिने र योजना कागजमै सीमित हुने अवस्थाको अन्त्य गर्न चाहन्छौं। पालिकाले सुधारका ठोस कदम नचाले शान्तिपूर्णदेखि चरमबद्ध आन्दोलन गर्न बाध्य हुनेछौं।”

ज्ञापनपत्रमा १५ वटा मुख्य मागहरू राखिएका छन् – इन्धन, भ्रमण खर्च, विकास योजना, ठेक्का प्रक्रिया, सवारी मर्मत, तालाबन्दीको कारण, जनचेतनामूलक कार्यक्रम, पोखरी ठेक्का, विद्युत मर्मत, कोभिड खर्च, स्वास्थ्य सेवा अभाव, सरकारी सवारी दुरुपयोग, करार कर्मचारी, विद्यालय व्यवस्थापन समिति र एमबुलेन्स चालक नियुक्ति प्रक्रियासमेतका विषयमा विस्तृत विवरण सार्वजनिक गर्न माग गरिएको छ।

ज्ञापनपत्र बुझ्दै गाउँपालिका प्रमुख सुरेश मेहताले कार्यालयले विषयवस्तु अध्ययन गरी छलफलपछि आवश्यक जवाफ दिने आश्वासन दिएका छन्।

कार्यक्रममा गाउँपालिकाका प्रशासन शाखा प्रमुख, वडा नं. ३ का अध्यक्ष संजय चौहान, युवा सञ्जालका पदाधिकारीहरू, युवा अभियन्ता राजेश साह, मखु दास तात्वा, मोटर बरनवाल, राजन साह, गाया चौहान, जेनजी युवा समूहका सदस्य चंदन पटेल, नितेश यादव, अकाश पटेल, निरज पटेल, स्थानीय बुद्धिजीवी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

पोडकास्ट सुन्नुहोस