२०८२ मंसिर ४ गते, बिहीबार १९:३९

किसान श्रेष्ठ र रामकुमारी झाँक्री नेकपा एमालेमा पुनः फर्किए

काठमाडौं –

नेकपा एमालेमा पुनः फर्किएका पूर्व सांसद किसान श्रेष्ठले पार्टी विद्रोहमा लाग्नु आफ्नो जीवनकै सबैभन्दा ठूलो गल्ती भएको बताएका छन् ।

सोमबार राष्ट्रिय सभा गृहमा आयोजित ‘घर फर्क अभियान’ कार्यक्रममा बोल्दै श्रेष्ठले विगतका गल्ती र कमजोरीलाई आत्मसमीक्षा गर्दै अब पार्टी एकताको मार्गमा अघि बढ्ने प्रतिवद्धता जनाए ।

श्रेष्ठले भने, “विगतमा विभिन्न कारणले हामी पार्टी विद्रोहमा लागेकै हौँ र त्यो हाम्रो जीवनकै भूल थियो भन्ने कुरा समयले बताएको छ । त्यसैले विगतका गल्ती र कमजोरी सच्याउँदै पार्टीमा फर्किने अभियानमा सहभागी हुन देश र विदेशमा रहेका सम्पूर्ण कमरेडहरूलाई आह्वान गर्दछु ।”

उनले नेकपा एमाले केवल एउटा राजनीतिक संगठन नभई आदर्श, दृष्टि र राष्ट्र निर्माणको मूल प्रवाह भएको उल्लेख गर्दै भने, “आज हामी केवल पार्टीमा फर्किएका होइनौँ, हामीले हाम्रो आदर्श, मार्ग र प्रतिबद्धता फर्काएका हौँ । अब हामी सबै मिलेर एमालेलाई अझ सबल, आधुनिक र जनमुखी बनाउन तयार छौँ । देशलाई आर्थिक समृद्धि र स्थायित्वको बाटोमा अघि बढाउने यात्रामा हामी केपी शर्मा ओलीको नेतृत्वमा पुनः एकताबद्ध हुँदैछौँ ।”

सोही कार्यक्रममा नेकपा (एस) छोडेर एमालेमा फर्किएकी नेतृ रामकुमारी झाँक्रीले समेत स्पष्ट पारिन् कि जेनजी आन्दोलनको नाममा भइरहेका गतिविधि वास्तविक युवा आवाज नभई सरकारविरुद्धको योजनाबद्ध अभियान थिए ।

उनले भनिन्, “जेनजी आन्दोलन युवा पुस्ताको आक्रोस थियो, तर त्यसमा केही तत्वहरूले सरकारविरुद्ध रोटी सेक्ने प्रयास गरे । आज फर्केर हेर्दा, जेनजी आन्दोलन र नेकपा एमालेबीचको टकरावको एउटा रूप थियो, जसको अन्त्य अब एकताको माध्यमबाट हुनुपर्छ ।”

कार्यक्रममा बोल्दै झाँक्रीले केपी शर्मा ओलीलाई राष्ट्रवादी व्यक्तित्व कमरेड भन्दै सम्मान गरेकी थिइन् ।

पोडकास्ट सुन्नुहोस