२०८२ पुष १६ गते, बुधबार १४:४८

हमासलाई ट्रम्पको कडा चेतावनी: ‘निःशस्त्रीकरण नगरे गम्भीर परिणाम भोग्न तयार हुनु’

(एजेन्सी)-

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गाजा युद्धविराम सम्झौता अन्तर्गत हमासलाई निःशस्त्रीकरणका लागि निश्चित समय दिइने र सो सर्त पालना नगरे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिनुभएको छ। फ्लोरिडास्थित आफ्नो मार–ए–लागो क्लबमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको महत्त्वपूर्ण भेटवार्तापछि ट्रम्पले यस्तो टिप्पणी गर्नुभएको हो।

 हमासले सहमत सर्तहरूको पालना नगरेमा त्यसको ठूलो मूल्य चुकाउनुपर्ने बताउँदै ट्रम्पले निःशस्त्रीकरणको प्रक्रियालाई आफ्ना विशेष दूत स्टिभ विट्कफ र ज्वाइँ जारेड कुश्नरले प्रत्यक्ष निगरानी गर्ने जानकारी दिनुभयो। राष्ट्रपति ट्रम्पले इजरायलले शान्ति योजनालाई शतप्रतिशत पालना गरेको दाबी गर्दै युद्धविरामको समयमा इजरायली गतिविधि वा गाजा शान्ति योजनाको दोस्रो चरणतर्फको प्रगतिमा आफूलाई कुनै शङ्का नरहेको प्रस्ट पार्नुभयो।

नेतन्याहुसँगको वार्तामा हमासको निःशस्त्रीकरणलाई मुख्य सर्त बनाउनुभएका ट्रम्पले वेस्ट बैंकको विषयमा भने इजरायली प्रधानमन्त्रीसँग आफ्नो धारणा फरक रहेको स्वीकार गर्नुभयो। विशेष गरी वेस्ट बैंकमा बसोबास गर्ने इजरायलीहरूको हिंसाका विषयमा दुई नेताहरूबीच असहमति देखिएको छ। ट्रम्पले यसअघि नै सेप्टेम्बरमा इजरायललाई वेस्ट बैंक गाभ्न नदिने घोषणा गरिसक्नुभएको छ। धेरै पश्चिमी र अरब राष्ट्रहरूले वेस्ट बैंक गाभ्ने इजरायली कदमले प्यालेस्टाइन राज्यको अवधारणालाई नै समाप्त पार्ने चेतावनी दिँदै आएका छन्।

प्रधानमन्त्री नेतन्याहुले ट्रम्पको पुनरागमनपछिको इजरायल–अमेरिका साझेदारीलाई ‘अतुलनीय’ भन्दै प्रशंसा गर्नुभएको छ। उहाँले मार–ए–लागोमा भएको भेटवार्तालाई अत्यन्तै फलदायी भएको टिप्पणी गर्नुभयो। ट्रम्पले गजा शान्ति योजनाको दोस्रो चरणलाई सक्दो चाँडो सुरु गर्न आफ्नो प्रयास रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ।

पोडकास्ट सुन्नुहोस