काठमाडौँ-
जेन-जी (Gen-Z) आन्दोलन दबाएको आरोपमा १३ दिनसम्म प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकले गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगको प्रतिवेदनलाई ‘पूर्वाग्रही र प्रतिशोधपूर्ण’ भएको दाबी गरेका छन्। सर्वोच्च अदालतको परमादेशपछि बिहीबार रिहा भएका लेखकले शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो बताएका हुन्।
नेता लेखकले भदौ २३ र २४ गतेको घटनाका सन्दर्भमा गठित आयोगको प्रतिवेदन अप्रमाणित र अपूर्ण रहेको उल्लेख गर्दै सोही आधारमा आफूलाई १३ दिनसम्म फौजदारी अभियोगमा नियन्त्रणमा राखिएको बताएका छन्। “पूर्वाग्रही, प्रतिशोधपूर्ण, अपूर्ण र अप्रमाणित प्रतिवेदनको आधारमा मलाई नियन्त्रणमा राखिए पनि अन्ततः म रिहा भएको छु,” उनले भनेका छन्।
आफू कानुनको पालना गर्ने र न्यायमा विश्वास गर्ने व्यक्ति भएको बताउँदै लेखकले यो प्रकरणमा आफ्नो बाँकी कानुनी र राजनीतिक लडाइँ जारी रहने स्पष्ट पारेका छन्। राज्यले प्रतिशोधको आधारमा आफूलाई हिरासतमा राखेको संकेत गर्दै उनले न्यायका लागि पछि नहट्ने अडान व्यक्त गरे।
जेन-जी आन्दोलन दमन गरेको अभियोगमा प्रहरीले लेखकलाई गत चैत १४ गते पक्राउ गरेको थियो। सोही अभियोगमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि सोही दिन पक्राउ परेका थिए। सर्वोच्चको परमादेशपछि बिहीबार दुवै नेताहरू एकैसाथ रिहा भएका हुन्।
यो रिहाइले नेपाली राजनीतिमा नयाँ तरङ्ग पैदा गरेको छ भने सरकारले गठन गरेको छानबिन आयोगको वैधता र निष्पक्षतामाथि समेत प्रतिपक्षी दलहरूले प्रश्न उठाउन थालेका छन्।














