२०८३ असार ६ गते, शनिबार २०:४२

‘इलिफेन्ट इन द फग (तिनीहरु)’लाई काठमाडौं महानगरपालिकाबाट नगद १० लाख सहित सम्मान

काठमाडौं –

चलचित्रलाई समुदायमा पुर्याउन तथा समुदायलाई चलचित्र भवनसम्म पुर्याउन तथा चलचित्रमार्फत रचनात्मक उद्योगको आयाम बढाउन काठमाडौँ महानगरपालिकाले ‘टोल टोलमा फिल्म महोत्सव’ सुरु गरेको छ । (शुक्रबार) खुला मञ्चबाट कार्यवाहक प्रमुख सुनिता डंगोलले, ‘महोत्सव’ शुभारम्भ गरेकी हुन् । 

त्यस अवसरमा कान्स फिल्म फेस्टिभलमा अनसर्टेन रिगार्ड विधामा ‘जुरी प्राइज’ र ‘वेस्ट साउण्ड क्रियसन’ अवार्डेड नेपाली कथानक चलचित्र ‘इलिफेन्ट इन द फग (तिनीहरु)’लाई नगद १० लाख रुपैयाँसहित सम्मान गरियो । 

२०८३ वैशाख २९ गतेदेखि जेठ ९ गते (१२–२३ मे, २०२६) सम्म फ्रान्समा आयोजना भएको कान्स फिल्म फेस्टिभलको ७९ औँ श्रृङ्खलामा अविनाश विक्रम शाह निर्देशित यस चलचित्रले अनसर्टेन रिगार्ड विधामा ‘जुरी प्राइज’ प्राप्त गरेको थियो । 

कान्स प्रिमियरमा चलचित्रलाई दर्शकले उभिएर निरन्तर ८ मिनेट लामो तालीबाट सम्मान दिएको थियो । फेस्टिभलमा चलचित्रले ‘वेस्ट साउण्ड क्रियसन’ अवार्ड समेत प्राप्त गरेको थियो । 

नेपाली चलचित्र उद्योगको गौरवलाई अन्तर्राष्ट्रिय स्तरमा उच्च बनाउन चलचित्रका लेखक, निर्माता, निर्देशक, कलाकार, प्राविधिक तथा पर्दा अगाडि र पछाडि रहेका सबै सर्जकको सिर्जनालाई प्रोत्साहन गर्न महानगरपालिकाले सम्मान प्रदान गरेको हो । 

सम्मान अवसरमा चलचित्रका सबै विभागबाट प्रतिनिधित्व गर्दै ४० जना सहभागी भएका थिए । उनीहरुलाई कार्यवाहक प्रमुख डंगोल, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, सामाजिक समितिका संयोजक रामकुमार के. सी. सहित अधिकारीहरुले सम्मान प्रदान गरेका थिए । 

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस