२०८३ असार ६ गते, शनिबार २०:३६

*राष्ट्रिय कुस्तीमा मधेशका सुजित यादवलाई स्वर्ण पदक, वीरगञ्जमा खुसीयाली

वीरगन्ज-
राष्ट्रिय कुस्ती प्रतियोगिता अन्तर्गत ७४ केजी तौल समूहमा मधेश प्रदेशका सुजित यादवले स्वर्ण पदक जितेका छन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ निवासी युवा खेलाडी यादवले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेर मधेश प्रदेश र गृहजिल्ला पर्साको शान बढाएका हुन् ।

मधेश प्रदेशमा यही असार ३ गतेदेखि ५ गतेसम्म सञ्चालन भएको उक्त राष्ट्रिय प्रतियोगितामा मुलुकका सातै प्रदेश र तीन विभागीय टोली गरी कुल १० वटा टिमको सहभागिता रहेको थियो । देशभरिका उत्कृष्ट खेलाडीहरू सहभागी भएको अत्यन्तै कडा र प्रतिस्पर्धात्मक खेलका बीच सुजितले सर्वोत्कृष्ट कौशल प्रदर्शन गर्दै स्वर्ण पदक आफ्नो नाममा सुरक्षित गर्न सफल भए ।

यादवको यस ऐतिहासिक सफलताले मधेश प्रदेशको खेलकुद क्षेत्रमा नयाँ उत्साह र ऊर्जा थपेको छ । युवा खेलाडीको यो अद्वितीय उपलब्धिले पर्सा जिल्ला र समग्र प्रदेशका अन्य युवाहरूलाई समेत खेलकुदतर्फ आकर्षित हुन र राष्ट्रिय स्तरमा पहिचान बनाउन ठूलो प्रेरणा दिएको छ । सुजितको ऐतिहासिक जितसँगै वीरगञ्जका स्थानीय बासिन्दा, खेलप्रेमी तथा शुभेच्छुकहरूले उनलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा समेत देशकै नाम उच्च राख्ने गरी उत्कृष्ट प्रदर्शनका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

मधेश र विशेषगरी तराई क्षेत्रमा परम्परागत रूपमा अत्यन्तै लोकप्रिय र जनस्तरमा रुचाइएको कुस्ती खेलको विकास, संरक्षण र प्रवर्द्धनमा सुजितले दिलाएको यो पदकले थप टेवा पुर्‍याउने विश्वास गरिएको छ । उपयुक्त अवसर प्रशिक्षण पाए स्थानीय प्रतिभाहरूले राष्ट्रिय मञ्चमा आफ्नो लोहा मनावान सक्छन् भन्ने उदाहरण सुजितले प्रस्तुत गरेका छन् ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस