२०८३ श्रावण २० गते, बुधबार ११:५१

भारतीय जहाजमाथि हुथी आक्रमण, मध्यपूर्वको तनाव थप चर्किने संकेत

काठमाडौं –

मध्यपूर्वमा तनाव कम गर्न कूटनीतिक संवाद र वार्ताका प्रयास भइरहेकै बेला यमनको तटीय क्षेत्रनजिकै लाल सागरमा भारतीय झण्डावाहक एक व्यापारिक जहाजमाथि इरान समर्थित हुथी विद्रोहीहरूले आक्रमण गरेका छन्। पछिल्लो घटनाले क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बन्ने र शान्ति स्थापनाका प्रयासमा नयाँ चुनौती थपिने चिन्ता बढाएको छ।

प्रारम्भिक जानकारीअनुसार विस्फोटक पदार्थले भरिएको एउटा आत्मघाती डुंगा (सुसाइड बोट) जहाजमा ठोक्किएपछि जहाज डुबेको हो। जहाजमा सवार सबै १३ जना भारतीय नागरिकलाई भने सकुशल उद्धार गरिएको भारतीय अधिकारीहरूले जनाएका छन्।

भारतको विदेश मन्त्रालयले ‘एमएसभी फैजे नूर–ए–औलिया’ नामक जहाजमाथि भएको आक्रमणको कडा शब्दमा निन्दा गर्दै चालकदलका सदस्यहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको जनाएको छ।

मन्त्रालयका अनुसार साउदी अरेबियाको राजधानी रियादस्थित भारतीय दूतावासले घटनाको निरन्तर अनुगमन गरिरहेको छ। साथै, यमनका सम्बन्धित अधिकारीहरूसँग समन्वय गरी उद्धार गरिएका भारतीय नागरिकको सुरक्षा तथा आवश्यक सहयोग सुनिश्चित गर्ने काम भइरहेको जनाएको छ।

मध्यपूर्वमा युद्धविराम, समुद्री सुरक्षाको प्रत्याभूति र तनाव न्यूनीकरणका लागि विभिन्न तहमा कूटनीतिक संवाद जारी रहेकै समयमा भएको यो आक्रमणले लाल सागर क्षेत्रमा पुनः अस्थिरता बढाउने र अन्तर्राष्ट्रिय जलमार्गको सुरक्षाप्रति नयाँ चिन्ता उत्पन्न गर्ने विश्लेषण गरिएको छ। यस घटनाले क्षेत्रीय शान्ति प्रक्रिया तथा इरानसँग सम्बन्धित कूटनीतिक पहलहरूमा समेत प्रतिकूल प्रभाव पार्न सक्ने आकलन गरिएको छ।

प्रतिक्रिया

नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति, अनसन

नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति, अनसन

पोडकास्ट सुन्नुहोस