२०८३ आश्विन २१ गते, बुधबार १९:३१

सरकारसँग तीन बुँदे सहमति भएपछि वीरगञ्ज–पथलैया सडकखण्ड सुचारु

बारा –

तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर पाँच दिनदेखि तनावग्रस्त बनेको सिमराको जनजीवन आइतबारदेखि सामान्य बन्दै गएको छ । नेपाल सरकार र पीडित परिवारबीच शनिबार राति तीन बुँदे सहमति भएपछि वीरगञ्ज–पथलैया सडकखण्डमा जारी आन्दोलन फिर्ता भएको हो ।

सहमतिको जानकारी पाएपछि सिमरा क्षेत्रमा धर्नामा बसेका स्थानीयले राति करिब १ बजे सडक खाली गरेका थिए । त्यससँगै आइतबार बिहानदेखि अवरुद्ध वीरगञ्ज–पथलैया सडकमा सवारीसाधन सञ्चालनमा आएका छन् । आन्दोलनका कारण रोकिएका मालवाहक सवारीसाधन रातिदेखि नै गन्तव्यतर्फ लागेका थिए भने बिहानदेखि लामो तथा छोटो दूरीका यात्रुवाहक र मालवाहक सवारी निर्वाध चल्न थालेका छन् ।

गरिमामाथि भएको जघन्य अपराधका दोषीलाई कडा कारबाहीको माग गर्दै स्थानीय र पीडित परिवारले गत बुधबारदेखि सिमरा दशधुरेमा सडकमा टेन्ट टाँगेर आन्दोलन गर्दै आएका थिए । आन्दोलन क्रमशः देशव्यापी बन्दै गएपछि सरकारमाथि घटनाको न्यायिक सम्बोधन र कानुनी सुधारका लागि दबाब बढेको थियो ।

आन्दोलनकै बीच गृहमन्त्री सुदन गुरुङको पहलमा पीडित बालिकाका अभिभावकलाई काठमाडौं बोलाएर शनिबार साँझ गृह मन्त्रालयमा सरकार र परिवारबीच वार्ता भएको थियो । मध्यरातिसम्म चलेको छलफलपछि तीन बुँदे सहमति जुटेको हो ।

सहमतिको पहिलो बुँदामा जघन्य आपराधिक घटनामा नागरिकको अपेक्षाअनुसार विद्यमान कानुनमा रहेको कसुर र सजायसम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख छ । त्यसका लागि कानुन तर्जुमा गर्न आवश्यक सुझावसहितको प्रतिवेदन सात दिनभित्र पेस गर्ने गरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले सात सदस्यीय ‘गरिमा न्याय संकल्प समिति’ गठन गर्ने सहमति भएको छ ।

दोस्रो बुँदामा पीडित परिवारको चाहनाअनुसार गरिमाको सालिक निर्माणका लागि पूर्वाधार विकास मन्त्रालयले स्थानीय तहसँग समन्वय गरी आवश्यक पहल गर्ने उल्लेख छ । तेस्रो बुँदामा पीडित परिवारलाई आफ्नो रीतिरिवाजअनुसार बालिकाको अन्त्येष्टि गर्ने वातावरण सुनिश्चित गर्ने सहमति भएको छ ।

सहमति पत्रमा सरकारका तर्फबाट सम्बन्धित मन्त्रालयका मन्त्रीहरू तथा पीडित परिवारका तर्फबाट गरिमाका बुबा मनोज चौधरी र आमा मानमती चौधरीले हस्ताक्षर गरेका छन् ।

गरिमा गत आइतबार बिहान जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेस्थित घरबाटै बेपत्ता भएकी थिइन् । दुई दिनपछि मंगलबार साँझ स्थानीय एक खाली घरमा उनको शव फेला परेको थियो । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा स्थानीय १६ वर्षीय सुमन थापा र २४ वर्षीय प्रोग्रेस चौधरीलाई पक्राउ गरेको छ ।

घटनापछि आक्रोशित स्थानीयले बालिका बलात्कार र हत्यामा संलग्नलाई कडा कानुनी कारबाही गर्नुपर्ने, दोषीलाई कठोरतम सजाय दिनुपर्ने लगायतका माग राख्दै सडक आन्दोलन थालेका थिए । आन्दोलनका कारण वीरगञ्ज–पथलैया सडकखण्डमा सवारी आवागमन प्रभावित हुँदा यात्रु तथा व्यवसायीसमेत समस्यामा परेका थिए ।

सरकारसँगको सहमतिपछि तत्कालका लागि सडक आन्दोलन रोकिए पनि गरिमाको घटनामा निष्पक्ष अनुसन्धान, दोषीमाथि प्रभावकारी कानुनी कारबाही र सहमतिका बुँदाको कार्यान्वयन अब सरकारका लागि मुख्य चुनौती बनेको छ ।

प्रतिक्रिया

सर्वोच्च अदालतको न्यायाधीश सिफारिस विवादमा: न्याय परिषद्मै फरक मत र नेपाल बार एसोसिएसनद्वारा गम्भीर आपत्ति

काठमाडौँ– सर्वोच्च अदालतका रिक्त चार न्यायाधीश नियुक्तिका लागि न्याय परिषद्ले

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको घरसहित विभिन्न स्थानमा सम्पत्ति शुद्धीकरण विभागको छापा

काठमाडौँ– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको घरमा सम्पत्ति शुद्धीकरण विभागले छापा

सर्वोच्च अदालतको न्यायाधीश सिफारिस विवादमा: न्याय परिषद्मै फरक मत र नेपाल बार एसोसिएसनद्वारा गम्भीर आपत्ति

काठमाडौँ– सर्वोच्च अदालतका रिक्त चार न्यायाधीश नियुक्तिका लागि न्याय परिषद्ले

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको घरसहित विभिन्न स्थानमा सम्पत्ति शुद्धीकरण विभागको छापा

काठमाडौँ– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको घरमा सम्पत्ति शुद्धीकरण विभागले छापा

पोडकास्ट सुन्नुहोस