बारा –
बाराको सिमरामा तीन वर्षीया गरिमा चौधरीको हत्या घटनाले सर्वसाधारण त्रसित भइरहेका बेला कलैयाबाट बेपत्ता भएकी दुई वर्षीया बालिका प्रहरीको सक्रिय खोजीपछि सकुशल फेला परेकी छन्।
कलैया उपमहानगरपालिका–१ कट्टीपर्साबाट शनिबार साँझदेखि बेपत्ता भएकी दुई वर्षीया बिन्दी मण्डललाई प्रहरीले रातभर सञ्चालन गरेको खोजी अभियानपछि आइतबार बिहान सकुशल उद्धार गरेको हो।
बालिका बेपत्ता भएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी नरेन्द्र कुँवरको कमान्डमा नेपाल प्रहरीसहित सुरक्षा निकाय परिचालन गरिएको थियो। प्रहरीले सम्भावित स्थानमा रातभर खोजी अभियान चलाउँदै बालिकाको अवस्था पत्ता लगाउन विशेष सक्रियता देखाएको थियो।
खोजी अभियानमा तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन गरिएको थियो। बालिकाको खोजीलाई प्रभावकारी बनाउन नेपाली सेना र सशस्त्र प्रहरीको समेत सहयोग लिइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
प्रहरी र सुरक्षा निकायको निरन्तर खोजीका बीच बालिका कलैया–२६ स्थित सिसवा महेशपुरमा सडक किनारको नालामा रोइरहेको अवस्थामा स्थानीय एक महिलाले फेला पारेकी थिइन्। बालिकालाई नालाबाट तत्काल उद्धार गरी ती महिलाले आफ्नै घरमा लगेर सुरक्षित राखेकी थिइन्।
बालिका फेला परेको जानकारी प्राप्त भएपछि प्रहरीले अभिभावकसँग समन्वय गरी उनलाई सुरक्षित रूपमा परिवारको जिम्मा लगाएको हो।
बेपत्ता बालिकाको खोजीमा प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त सक्रियताले महत्वपूर्ण भूमिका खेलेको प्रहरीले जनाएको छ। बालिका सकुशल भेटिएपछि परिवारसँगै स्थानीयले समेत राहतको अनुभूति गरेका छन्।
सिमरामा केही दिनअघि तीन वर्षीया गरिमा चौधरी बेपत्ता भई पछि मृत अवस्थामा फेला परेको घटनाका कारण बारा क्षेत्रमा बालबालिकाको सुरक्षा विषयमा चिन्ता बढिरहेका बेला बिन्दी बेपत्ता भएको घटनाले थप त्रास सिर्जना गरेको थियो। तर, प्रहरीले तत्काल खोजी अभियान सञ्चालन गरी बालिकालाई सकुशल फेला पारेपछि सम्भावित जोखिम टरेको छ।











