२०८३ भाद्र १२ गते, शुक्रबार ११:५७

रसुवा बाढी : ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता

काठमाडौँ –

रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ४६९ पुगेको छ। गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले आज बिहान ७ः३० बजे सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार अझै ९७७ जना बेपत्ता छन्।

मन्त्रालयका अनुसार फेला परेका ४६९ शवमध्ये सबैभन्दा धेरै चितवनमा १७८ जनाको शव फेला परेको छ। जिल्लागत विवरणअनुसार नवलपरासी पूर्वमा ११०, गोरखामा ४४, नुवाकोटमा ३७, धादिङमा ३३, तनहुँमा २८, नवलपरासी पश्चिममा २७ र रसुवामा १२ जनाको शव फेला परेको छ। गोरखामा फेला परेका शवमा विभिन्न मानव अङ्गसमेत समावेश छन्।

बाढी तथा त्यसबाट सिर्जित विपद्मा परी ७३ जना घाइते भएका छन्। घाइतेमध्ये रसुवामा मात्रै ४३ जना रहेका छन्। हालसम्म ३ हजार २५३ जनाको जीवितै उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ।

झन्डै एक हजार जना अझै सम्पर्कविहीन

बाढीपछि सम्पर्कविहीन रहेका ९७७ जनामध्ये विदेशी नागरिक, विदेशमा बस्ने नेपाली तथा सुरक्षाकर्मीको सङ्ख्या उल्लेख्य रहेको मन्त्रालयको विवरणमा उल्लेख छ।

सम्पर्कविहीनमध्ये ५१७ जना विदेशी नागरिक, नेपाल घुम्न आएका विदेशमा बस्ने १२७ जना नेपाली र सुरक्षाकर्मी ८६ जना छन्। सुरक्षाकर्मीमध्ये नेपाली सेनाका ४५, नेपाल प्रहरीका २८ र सशस्त्र प्रहरी बलका १३ जना रहेका छन्।

त्यस्तै, स्थानीयतर्फ रसुवाका १६१ जना र मकवानपुरका ६६ जना सम्पर्कविहीन छन्। भन्सार कार्यालयका १५ जना तथा अध्यागमन कार्यालयका चार जना कर्मचारीसमेत अझै सम्पर्कमा आउन सकेका छैनन्।

९ हजार ४०५ सुरक्षाकर्मी उद्धारमा परिचालन

विपद् प्रतिकार्य तथा उद्धारका लागि देशभर ९ हजार ४०५ सुरक्षाकर्मी परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ।

उद्धार तथा राहत कार्यमा नेपाली सेनाका ४ हजार २४३, नेपाल प्रहरीका ३ हजार ३१८ र सशस्त्र प्रहरी बलका १ हजार ८४४ जना सुरक्षाकर्मी खटिएका छन्।

उद्धार कार्यलाई तीव्र बनाउन नेपाली सेनाका ६ वटा र निजी क्षेत्रका ९ वटा गरी १५ वटा हेलिकप्टर प्रयोगमा ल्याइएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

विशेष

पोडकास्ट सुन्नुहोस