२०८३ आश्विन २३ गते, शुक्रबार ११:५९

सरावगीको रास्वपा प्रवेश: राजनीतिक रणनीति कि मेयरको तयारी ?

वीरगन्ज –

वीरगन्ज महानगरपालिकाका प्रथम नगरप्रमुख विजयकुमार सरावगीले नेकपा एमाले परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्यता लिएको खबर सार्वजनिक भएपछि पर्साको राजनीतिमा तरंग उत्पन्न भएको छ। एमालेको केन्द्रीय सदस्यसहित पार्टीका सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गर्दै सरावगीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेपछि वीरगन्जको राजनीतिक वृत्तमा उनको पार्टी परिवर्तन चर्चाको विषय बनेको हो।

वीरगन्जका चोकचोकमा अहिले सरावगीको रास्वपा प्रवेशबारे चर्चा भइरहेको छ। विभिन्न सञ्चारमाध्यममा उनले रास्वपाको सदस्यता लिएको विवरण सार्वजनिक भएसँगै आगामी स्थानीय तहको निर्वाचनमा उनी सोही पार्टीबाट पुनः वीरगन्ज महानगरपालिकाको नगरप्रमुखमा उम्मेदवार बन्ने हुन् कि भन्ने अड्कलबाजी सुरु भएको छ।

स्थानीय तहको निर्वाचन नजिकिँदै गएको सन्दर्भमा सरावगीको पार्टी परिवर्तनलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। यद्यपि, उनी रास्वपाबाट नगरप्रमुखको उम्मेदवार बन्ने विषयमा औपचारिक निर्णय भने सार्वजनिक भएको छैन।

यस विषयमा रास्वपा पर्साका जिल्ला सभापति तथा प्रतिनिधिसभा सदस्य हरि पन्तले सरावगीले अनलाइनमार्फत पार्टीको सदस्यता लिएको जानकारी दिए। जिल्ला कार्यसमितिको जानकारीबिना उनी पार्टीमा प्रवेश गरेकाले उनको सदस्यताबारे छलफल गरेर धारणा बनाइने पन्तले बताए।

आगामी स्थानीय तहको निर्वाचनमा सरावगी रास्वपाबाट नगरप्रमुखको उम्मेदवार बन्ने सम्भावनाबारे पन्तले पार्टीको आफ्नै विधि र विधान रहेको स्पष्ट पारे। उम्मेदवार छनोट गर्ने प्रक्रिया र मापदण्डअनुसार नै निर्णय हुने उनको भनाइ छ।

रास्वपामा केन्द्रीय नेताले सिफारिस गर्दैमा उम्मेदवारको टिकट सुनिश्चित नहुने उल्लेख गर्दै पन्तले उम्मेदवार छनोटको अन्तिम निर्णय पार्टीको निर्धारित प्रक्रिया र मापदण्डअनुसार हुने बताए। पार्टीका महामन्त्रीले यसअघि नै उम्मेदवार छनोट प्रक्रियाबारे आफ्नो धारणा सार्वजनिक गरिसकेको पनि उनले उल्लेख गरे।

यसै विषयमा पर्सा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य शुशील साह कानुसँग प्रतिक्रिया लिँदा उनले विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारबाट मात्रै सरावगी रास्वपामा प्रवेश गरेको जानकारी पाएको बताए। सरावगीको प्रवेशले पार्टीलाई बलियो बनाउँछ वा कमजोर, त्यो आगामी दिनमा स्पष्ट हुने उनको भनाइ छ। सरावगी रास्वपामा प्रवेश गर्न लागेको विषयमा आफूहरूलाई पहिलेदेखि कुनै जानकारी नभएको उनले स्पष्ट पारे।

यता, सरावगीनिकट स्रोतले भने रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहसँग चुनावी टिकटबारे छलफल भएपछि मात्रै उनी पार्टीमा प्रवेश गरेको दाबी गरेको छ। वीरगन्ज महानगरपालिकाको नगरप्रमुखको टिकट निश्चित भएपछि मात्र सरावगी रास्वपामा प्रवेश गरेको स्रोतको भनाइ छ।

सरावगीले भने एमाले पर्सामा व्याप्त गुटबन्दीबाट आजित भएर पार्टी त्याग्ने निर्णयमा पुगेको बताएका छन्। पर्सामा एमालेको संगठन कमजोर रहेको र पार्टीभित्रको गुटगत राजनीतिका कारण आफूले संगठन बलियो बनाउने प्रयास गर्दा पनि अपेक्षित सहयोग नपाएको उनको भनाइ छ।

एमाले नेता विचारी यादवबाहेक अन्य नेताबाट आफूले सहयोग नपाएको दाबी गर्दै सरावगीले संगठन सुदृढ बनाउने आफ्नो प्रयासलाई समेत गुटगत राजनीतिले कमजोर बनाएको बताए। यही परिस्थितिका कारण एमाले परित्याग गरेर रास्वपामा प्रवेश गर्ने निर्णयमा पुगेको उनले स्पष्ट पारेका छन्।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस