२०८३ आश्विन १६ गते, शुक्रबार २१:११

हिन्दू पत्रकार सङ्घ नेपालको बैठक: आनन्द पटेलद्वारा जिम्मेवारी हस्तान्तरण, कन्हैया पटेल बने नयाँ कोषाध्यक्ष

वीरगन्ज —

हिन्दू पत्रकार सङ्घ नेपालको बैठक वीरगन्जस्थित ऐतिहासिक माइस्थान मन्दिर परिसरमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष राजन रौनियारको अध्यक्षतामा बसेको बैठकले सङ्गठनलाई शुद्धीकरण गर्ने, कार्यालय स्थापना गर्ने तथा संस्थाका गतिविधिलाई थप प्रभावकारी र गतिशील बनाउने महत्त्वपूर्ण निर्णयहरू गरेको छ।

बैठकले संस्थामा लामो समयदेखि निष्क्रिय रहेका तीन जना सदस्यहरूलाई हटाउने निर्णय गरेको छ। यसैगरी, वर्तमान कोषाध्यक्ष आनन्द पटेल क्रियाशील पत्रकार सङ्घको अध्यक्ष पदमा चयन भएकाले उनले हिन्दू पत्रकार सङ्घको कोषाध्यक्ष पदबाट स्वेच्छिक रूपमा राजीनामा दिएका छन्। उनको स्थानमा कन्हैया पटेललाई कोषाध्यक्षको नयाँ जिम्मेवारी सुम्पिएको छ।

पदबाट राजीनामा दिँदै आनन्द पटेलले हिन्दू पत्रकार सङ्घ नेपालमा आफूले बिताएको कार्यकाल निकै महत्वपूर्ण र सिकाइपूर्ण रहेको बताए। उनले आफू क्रियाशील पत्रकार सङ्घको अध्यक्षमा चयन भएकाले संस्थाको मर्यादा र कार्यव्यस्ततालाई ध्यानमा राख्दै स्वेच्छिक रूपमा जिम्मेवारी हस्तान्तरण गरेको स्पष्ट पारे। साथै, उनले सङ्घलाई आगामी दिनमा थप उचाइमा पुर्याउन आफ्नोतर्फबाट सधैँ नैतिक र रचनात्मक सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।

कोषाध्यक्षको नयाँ जिम्मेवारी सम्हालेलगत्तै कन्हैया पटेलले सङ्घका अध्यक्षसहित सम्पूर्ण पदाधिकारी र सदस्यहरूप्रति आभार व्यक्त गरे। उनले सङ्गठनको शुद्धीकरण, आर्थिक पारदर्शिता र पत्रकारहरूको हकहितका लागि आफू पूर्ण निष्ठाका साथ लाग्ने बताए। सङ्घका गतिविधिहरूलाई थप प्रभावकारी बनाउन र सबैलाई समेटेर अगाडि बढ्न आफूले कुनै कसुर बाँकी नराख्ने उनको भनाइ थियो।

उक्त बैठकमा उपाध्यक्षद्वय विनोद पटेल र बिमला गुप्ता, सचिव राजकुमार सराफ, नवनियुक्त कोषाध्यक्ष कन्हैया पटेल तथा सदस्यहरू रश्मि राजभण्डारी, अनिल ओझा, सन्तोष कुशवाहा, राजु बैठा र आनन्द पटेललगायतका पदाधिकारी एवम् सदस्यहरूको उपस्थिति रहेको थियो। आजका निर्णयहरूले संस्थालाई सकारात्मक र गतिशील ऊर्जा प्रदान गर्नुका साथै आगामी दिनमा सङ्गठनलाई थप सुदृढ र सक्रिय बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस