वीरगन्ज–
भूमि व्यवस्थापन तथा अभिलेख विभाग अन्तर्गतको भूमि प्रशासन कार्यालय, पर्सा, वीरगन्जले साविक छपकैया वडा नं. ९ को कित्ता नं. ५५३ को जग्गा पुनः नापीको क्रममा ‘जुद्ध म्याच फ्याक्ट्री’को नाममा श्रेस्ता तयार गरी पठाइएको विषयमा विस्तृत छानबिन अगाडि बढाएको छ। कार्यालयले यससम्बन्धी एककिन राय र प्रमाणित प्लटबुक उतार पठाउन नापी कार्यालय, पर्सालाई पत्राचार गरेको छ। यो पत्र २०८३ साल असोज १६ गते जारी गरिएको हो।
निवेदकको माग
निवेदक शोभा रानी चिपालु र सरिता चिपालुले माननीय मन्त्रीज्यू समक्ष दिएको निवेदनका आधारमा यो पत्राचार गरिएको हो। निवेदकहरूले आफ्ना स्वर्गीय बुबा नारायण बहादुर चिपालुको नाममा कायम रहेको जिल्ला पर्सा, साविक छपकैया वडा नं. ९, कित्ता नं. ५५३ (क्षेत्रफल ०-३-१०) जग्गाको श्रेस्ता कायम गरी हाल साविक तथा नामसारी गरी जग्गाधनी प्रमाण पुर्जा पाऊँ भनी माग गर्दै आएका छन्।
जग्गाको ऐतिहासिक पृष्ठभूमि र अनियमितताको आरोप
कागजातअनुसार २०२१ सालको नापीको बखत नारायण बहादुर चिपालुको नाममा साविक छपकैया वडा नं. ४, कित्ता नं. ११, क्षेत्रफल ०-८-१० कायम भई फिल्डबुक समेत बनेको थियो। त्यसपछि उनीहरूले सो जग्गाधनी प्रमाण पुर्जा प्राप्त गरी भोगचलन गर्दै आएकोमा २०३८ सालमा उक्त क्षेत्रफलमध्ये ०-५-० (पाँच कठ्ठा) जग्गा चिकित्सा शास्त्र अध्ययन संस्थान, वीरगन्जलाई राजीनामा पारित गरिदिएको देखिन्छ।
बाँकी रहेको ०-३-१० क्षेत्रफलको जग्गा नारायण बहादुर चिपालुकै नाममा कायम रहनुपर्नेमा, नापी कार्यालयका नापी अधिकृत दीपक कुमार सिंहको प्रत्यक्ष संलग्नता र प्रमुख नापी अधिकृत राकेश कुमार झाको सहमतिमा प्रक्रियाविपरीत काम भएको आरोप छ। करिब १० करोड बजार मूल्य पर्ने उक्त जग्गामा प्रमाण हुँदाहुँदै वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह अध्यक्ष रहेको भनिएको कम्पनी ‘जुद्ध म्याच फ्याक्ट्री’को नाममा करोडौँको आर्थिक चलखेल गरी दूषित तरिकाले हाल साविक गरिदिएर जग्गाधनी पुर्जा जारी गरिएको पीडित पक्षको दाबी छ।
कार्यालयीय प्रक्रिया र कानुनी लडाइँ
नारायण बहादुर चिपालुको हक खाने छोरीहरू शोभा रानी चिपालु र सरिता चिपालुले तत्कालीन भूमि सुधार तथा मालपोत कार्यालयमा दर्ता नं. २४४७३ (मिति २०८१-१०-२१) मा हाल साविक र नामसारीका लागि निवेदन दिएका थिए। सोही आधारमा तत्कालीन मालपोत कार्यालय, पर्साले नापी कार्यालय, पर्सालाई मिति २०८२-०२-१९ को च.नं. ९३४३ को पत्रमार्फत हाल साविकको विवरण माग गरेको देखिन्छ।
कारवाहीको प्रक्रिया अघि बढिरहेकै अवस्थामा नापी कार्यालयले वास्तविकतालाई पनच्छाएर आर्थिक चलखेलका आधारमा जग्गाधनी पुर्जा जारी गरेको आशङ्का गरिएको छ। त्यसपछि पीडितहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा माननीय मन्त्रीज्यूसमक्ष दोषी व्यक्तिहरूमाथि छानबिन गरी हदैसम्मको कारवाही र आफ्नो जग्गाको पुर्जा पाऊँ भनी निवेदन दिएका थिए।
भूमि प्रशासनको कडा निर्देशन
छानबिनकै क्रममा भूमि प्रशासन कार्यालयले नापी कार्यालय, पर्सालाई पत्राचार गर्दै निवेदकहरूको माग र प्रमाणबमोजिम सरिता चिपालु र शोभा रानी चिपालुको नाममा हाल साविक/नामसारी गरी जग्गाधनी प्रमाण पुर्जा दिन मिल्ने वा नमिल्ने सम्बन्धमा पछि सम्म कुनै कानुनी अड्चन नआउने गरी स्पष्ट राय/प्रतिक्रिया दिन अनुरोध गरेको छ। साथै, साविक कित्ता नं. ११ बाट कायम भएको कित्ता नं. ५५२ र ५५३ को प्रमाणित प्लटबुक उतारसमेत पठाउन ताकेता गरिएको छ।











