२०८३ कार्तिक २१ गते, शनिबार १६:५२

मधेश प्रदेश सरकार संकटमा: नेकपाका चार मन्त्रीको सामूहिक राजीनामा

जनकपुर –

मधेश प्रदेशको सत्ता राजनीतिले फेरि नयाँ मोड लिएको छ। नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाहिरिएसँगै प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको बाटो खुलेको छ।

नेकपाबाट मधेश प्रदेश सरकारमा सहभागी चार जना मन्त्रीले शुक्रबार साँझ सामूहिक रूपमा राजीनामा दिएका छन्। अर्थमन्त्री युवराज भट्टराई, उद्योग तथा पर्यटनमन्त्री कनिष पटेल, ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री जवाहरलाल कुशवाहा र गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले मुख्यमन्त्री यादवसमक्ष राजीनामा बुझाएका हुन्। मुख्यमन्त्री काठमाडौँमा रहेकाले मन्त्रीहरूले ह्वाट्सएपमार्फत राजीनामा-पत्र पठाएको एक मन्त्रीले जानकारी दिएका छन्। उनीहरूले राजनीतिक निकासका लागि राजीनामा दिएको उल्लेख गरेका छन्।

यसैबिच, नेकपाले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिँदै प्रदेश प्रमुख डा. सुरेन्द्र लाभलाई जानकारी गराइसकेको छ। यसअघि गत असोज ३० गते सरकार गठनका क्रममा भएको १५ बुँदे सहमति कार्यान्वयन नभएको आरोप लगाउँदै नेकपा एमालेले आफ्ना चार मन्त्रीलाई फिर्ता बोलाएर समर्थन फिर्ता लिएको थियो। एमालेपछि नेकपा पनि बाहिरिएपछि मुख्यमन्त्री यादव नेतृत्वको सरकार गम्भीर सङ्कटमा परेको छ।

३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता संवैधानिक व्यवस्था अनुसार सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ। एमालेले असोज ३० गते नै समर्थन फिर्ता लिएकाले मुख्यमन्त्री यादवका लागि विश्वासको मत लिने समयसीमा नजिकिँदै गएको छ।

सरकार जोगाउन कांग्रेस सभापति गगनकुमार थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गरे पनि ओली पुनः कांग्रेस नेतृत्वको सरकारमा सहभागी हुन तयार नभएको बताइएको छ।

जसपा नेपालको नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना नेकपाको बहिर्गमनसँगै मधेश प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा एमाले र नेकपाबिच नयाँ सत्ता समीकरण निर्माणको चर्चा तीव्र बनेको छ।

एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवबिच केन्द्रस्तरमै नयाँ समीकरणबारे छलफल भइसकेको छ। तीन दलबिच सरकार गठनको सहमति लगभग टुङ्गिएको र नेतृत्वको विषयमा चाँडै निष्कर्ष निकालिने बताइएको छ।

स्रोतका अनुसार जसपा नेपालको नेतृत्वमा नयाँ सरकार गठन हुने सम्भावना बलियो छ, जसका लागि जसपा नेपालका प्रदेश संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्रीका प्रमुख दाबेदारका रूपमा देखिएका छन्।

पछिल्लो राजनीतिक घटनाक्रमले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनमा एमाले, नेकपा र जसपा नेपालबिच चुनावी तालमेल वा कार्यगत एकता हुनसक्ने विश्लेषकहरूको अनुमान छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस