२०८३ कार्तिक २१ गते, शनिबार १६:५५

जीतपुरसिमराको सेज क्षेत्रमा युवक मृत फेला, श्रीमती सम्पर्कविहीन भएपछि घटना शङ्कास्पद

जीतपुरसिमरा (बारा) –

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१५ डुमरवानास्थित विशेष आर्थिक क्षेत्र (सेज) को खेतमा रहेको कुलोमा शनिवार बिहान एक युवक मृत अवस्थामा फेला परेका छन्।

मृतक स्थानीय ३० वर्षीय ट्र्याक्टर चालक वीरेन्द्र माझी रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिएका छन्। शनिबार बिहान खेततर्फ गएका स्थानीय बासिन्दाले कुलोमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

पारिवारिक स्रोतका अनुसार ट्र्याक्टर चलाएर जीविकोपार्जन गर्दै आएका माझी शुक्रबार साँझ घरबाट निस्किएपछि फर्केका थिएनन्।

घटनास्थल नजिकै नयाँ कपडा राखिएको झोला फेला परेको र घटनालगत्तै मृतककी श्रीमती पनि सम्पर्कविहीन भएकाले घटनालाई शङ्कास्पद रूपमा हेरिएको प्रहरीले जनाएको छ।

प्रहरीले शवलाई परीक्षण (पोस्टमार्टम) का लागि अस्पताल पठाएको छ भने घटनाको विभिन्न कोणबाट तीव्र अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस