२०८३ कार्तिक २१ गते, शनिबार १७:०८

विकास निर्माणमा चरम लापरबाही गर्ने २० निर्माण कम्पनी कालोसूचीमा

काठमाडौँ –

सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न विकास निर्माण तथा ठेक्कापट्टाका काममा चरम लापरबाही गर्ने २० वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीहरूलाई कालोसूचीमा राखेको छ।

कार्यालयले कात्तिक २० गतेको निर्णयानुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कात्तिक २१ गते सूचना जारी गर्दै ती कम्पनीहरूलाई १ वर्षदेखि २ वर्षसम्मका लागि कालोसूचीमा राखिएको जनाएको छ। विभिन्न सार्वजनिक निकायहरूबाट काम सन्तोषजनक नभएको र लापरबाही गरेको भन्दै प्राप्त सिफारिसका आधारमा अनुगमन कार्यालयले यो निर्णय गरेको हो।

कुन-कुन कम्पनी परे कालोसूचीमा?

कालोसूचीमा पर्ने निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूमा बुढो पोखरी कन्स्ट्रक्सन प्रालि (काठमाडौँ), हिमांशू लोकेस देव जेभी, भद्रर्ष कन्स्ट्रक्सन (महोत्तरी), जय निर्माण सेवा (महोत्तरी), शिवम कन्स्ट्रक्सन (धनुषा), साईबाबा निर्माण सेवा (धनुषा), सिद्धी साई प्रकाश कन्स्ट्रक्सन प्रालि (काठमाडौँ), सुरक्षा निर्माण सेवा (धनुषा), आशिष कन्स्ट्रक्सन कम्पनी प्रालि (कैलाली) र इन्द्र कन्स्ट्रक्सन एन्ड सप्लायर्स (सर्लाही) लगायत २० वटा विभिन्न कम्पनी रहेका छन्।

कसुरको प्रकृति हेरी यी कम्पनीहरूलाई १ वर्षदेखि २ वर्षसम्मका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ। कालोसूचीमा परेका यी सम्पूर्ण कम्पनीहरूले तोकिएको अवधिभर कुनै पनि सरकारी तथा सार्वजनिक निकायको खरिद कारबाही, टेन्डर तथा बोलपत्र प्रक्रियामा भाग लिन पाउने छैनन्।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस