२०८३ बैशाख ३ गते, बिहीबार १७:५३

इरानी बन्दरगाहमा अमेरिकी नाकाबन्दी: ‘हर्मुज जलमार्ग’ बाट पछि नहट्ने इरानको चेतावनी

काठमाडौँ-

सामरिक रूपले निकै महत्त्वपूर्ण मानिने ‘स्ट्रेट अफ होर्मुज’ (हर्मुज जलमार्ग) लाई लिएर इरान र अमेरिकाबीचको सैन्य तनाव उत्कर्षमा पुगेको छ। इरानी बन्दरगाहहरूमा अमेरिकाले सैनिक नाकाबन्दी गरेपछि इरानले त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ।

इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीका सैन्य सल्लाहकार मोहसेन रेजाईले इरानको अधिकार पूर्ण रूपमा सुरक्षित नभएसम्म हर्मुज जलमार्गबाट पछि नहट्ने स्पष्ट पारेका छन्। इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) का पूर्व कमान्डरसमेत रहेका रेजाईले इरानी जलमार्गमा आर्थिक र समुद्री गतिविधिमाथिको नियन्त्रण कायम राख्ने अडान व्यक्त गरेका हुन्।

संयुक्त राज्य अमेरिकाले बुधबार मात्रै इरानका बन्दरगाहहरूमा नाकाबन्दी कार्यान्वयन गरिएको घोषणा गरेको थियो। अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) का कमान्डर एडमिरल ब्राड कुपरले एक विज्ञप्ति जारी गर्दै अपरेशन सुरु भएको ३६ घण्टाभित्रै अमेरिकी सेना इरानी जलक्षेत्रमा प्रवेश गर्ने दाबी गरेका छन्। अमेरिकी सेनाको यो पछिल्लो दाबीले मध्यपूर्वमा ठूलो सैन्य मुठभेडको जोखिम बढाएको छ।

सैन्य सल्लाहकार रेजाईले विगतका वार्ता र सम्झौताहरूबाट पाठ सिक्नुपर्ने भन्दै अबका दिनमा हुने कुनै पनि मस्यौदा वा सम्झौताहरू थप सावधानीपूर्वक बनाइनुपर्नेमा जोड दिएका छन्। इरानी सञ्चारमाध्यमहरूका अनुसार, इरानले आफ्नो समुद्री सार्वभौमिकतामाथि हुने कुनै पनि हस्तक्षेप स्वीकार नगर्ने रणनीति अख्तियार गरेको छ।

विश्वको कुल खनिज तेल आपूर्तिको ठूलो हिस्सा ओगट्ने हर्मुज जलक्षेत्रमा बढेको यो द्वन्द्वले विश्वव्यापी ऊर्जा बजार र सुरक्षा व्यवस्थामा समेत गम्भीर असर पर्ने देखिएको छ।

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस