२०८२ असार १७ गते, मंगलवार १६:२७

काठमाडौँ-

भारतले पाकिस्तानविरुद्ध ‘अपरेसन सिन्दुर’ नामक सैन्य कारबाही सुरु गरेसँगै भारतका प्रमुख एयरलाइन्सहरूले यात्रा एडभाइजरी जारी गर्दै उडानहरू प्रभावित हुने जनाएका छन्। एयर इन्डिया, स्पाइसजेट र इन्डिगोले उत्तर भारतका विभिन्न गन्तव्यमा उडान रद्द वा डाइभर्ट गरेको जानकारी दिएका छन्।

एयर इन्डियाले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भनेको छ, “वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै ७ मे २०२५ दिउँसो १२ बजेसम्म जम्मु, श्रीनगर, लेह, जोधपुर, अमृतसर, भुज, जामनगर, चण्डीगढ र राजकोट जाने तथा ती स्थानबाट आउने सबै उडानहरू रद्द गरिएको छ।” एयरलाइन्सले थप जानकारी दिँदै अमृतसर जाने दुई अन्तर्राष्ट्रिय उडानलाई दिल्ली डाइभर्ट गरिएको जनाएको छ।

यस्तै, स्पाइसजेटले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “वर्तमान अवस्थाका कारण धर्मशाला, लेह, जम्मु, श्रीनगर र अमृतसरलगायत उत्तर भारतका केही विमानस्थलहरू अर्को सूचना नआएसम्म बन्द गरिएको छ।” इन्डिगोले पनि यी क्षेत्रमा उडान प्रभावित हुने पुष्टि गरेको छ।

भारत र पाकिस्तानबीच बढ्दो तनाव र सीमा क्षेत्रमा जारी गोलाबारीका कारण यी क्षेत्रका विमानस्थलहरूमा सुरक्षा चिन्ता बढेको छ। यात्रुहरूलाई ताजा जानकारीका लागि सम्बन्धित एयरलाइन्सको वेबसाइट वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस