२०८२ असार १७ गते, मंगलवार १३:३७

काठमाडौँ-
भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा ‘अपरेशन सिन्दूर’ अन्तर्गत हवाई आक्रमण गरेपछि पाकिस्तानको राष्ट्रिय सुरक्षा समितिको आपतकालीन बैठक बसेको छ। बैठकपछि पाकिस्तानको प्रधानमन्त्री कार्यालयले एक विज्ञप्ति जारी गर्दै आफू अनुकूल समय, स्थान र शैलीमा जवाफी कारबाही गर्ने अधिकार सुरक्षित राखेको चेतावनी दिएको छ।

विज्ञप्तिमा संयुक्त राष्ट्रसङ्घको चार्टरको धारा ५१ लाई उद्धृत गर्दै पाकिस्तानले आफ्ना निर्दोष नागरिकको मृत्यु र सार्वभौमिकताको उल्लङ्घनको बदला लिने स्पष्ट पारेको छ। साथै, सशस्त्र बललाई आवश्यक कारबाही गर्न पूर्ण अधिकार प्रदान गरिएको जानकारी पनि विज्ञप्तिमा उल्लेख छ। भारतीय आक्रमणमा २६ जनाको मृत्यु भएको र मृतकमध्ये आतङ्कवादी सङ्गठन जैश-ए-मोहम्मदका नेता मसूद अजहरका नातेदार पनि रहेको पाकिस्तानी पक्षले दाबी गरेको छ।

पाकिस्तानी जनताले भारतीय आक्रमणप्रति गहिरो आक्रोश व्यक्त गर्दै सेनाको साहस र सम्भावित जवाफी कदमलाई पूर्ण समर्थन गरेका छन्। विज्ञप्तिमा पाकिस्तानले आफू शान्तिको पक्षधर रहेको तर सार्वभौमिकता, क्षेत्रीय अखण्डता र जनताको सुरक्षामा कुनै सम्झौता नगर्ने अडान दोहोर्‍याएको छ।

यसैगरी, पाकिस्तानले अन्तर्राष्ट्रिय समुदायलाई भारतको आक्रामक गतिविधिको गम्भीरता बुझ्न र अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घनमा भारतलाई जवाफदेही बनाउन आग्रह गरेको छ। पाकिस्तानले भारतको आक्रमणलाई “खुला उत्तेजना” को सङ्ज्ञा दिँदै यसले दक्षिण एसियाको शान्ति र स्थिरतामा गम्भीर खतरा उत्पन्न गरेको बताएको छ।

भारतले भने यो आक्रमण आतङ्कवादी सङ्गठनहरूको आधारभूत संरचनामाथि लक्षित रहेको र सटीक रूपमा सञ्चालन गरिएको दाबी गरेको छ। यद्यपि, यो घटनाले दुई आणविक शक्ति सम्पन्न राष्ट्रहरूबीच तनावलाई थप चर्काएको छ। अन्तर्राष्ट्रिय समुदायले दुवै पक्षलाई संयम अपनाउन र वार्तामार्फत समाधान खोज्न आह्वान गरेको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस