२०८२ असार १७ गते, मंगलवार १३:५०

काठमाडौं –

प्रधानमन्त्री केपी शर्मा ओलीले पुरातनवादी तत्त्वहरूले ‘मुलुकमा केही भएन’ भन्ने मिसनका साथ निराशा फैलाउने प्रयास गरेको बताएका छन्। ‘लोकान्तर डटकम’को नवौँ वार्षिकोत्सवका अवसरमा बुधबार ललितपुरमा आयोजित विशेष संवादमा बोल्दै उनले यस्ता तत्त्वहरू लोकतान्त्रिक प्रणालीको निर्वाचनबाट सत्तामा आउने सम्भावना नदेखेर छट्पटाइरहेको बताए।

“यहाँ काम गर्ने मान्छे छैन, मान्छेहरू काम पाइन्छ भनेर विदेश गइरहेका छन्। मुलुकमा केही भएन भन्ने मिसनका साथ पुरातनवादी तत्त्वहरू सञ्चालित छन्। उनीहरूले दुई सय पचास वर्ष शासक भएर खाएको सम्झिरहेका छन्। लोकतान्त्रिक प्रणालीबाट सत्ता सम्भव नदेखेपछि यस्तो प्रचार गरिरहेका छन्,” उनले भने।

प्रधानमन्त्री ओलीले अधिनायकवाद र तानाशाहीमा विश्वास गर्नेहरूले आशावादी कुरा गर्दा पनि गाली गर्ने र विकासको कुरा गर्ने कलाकारका चलचित्र बहिष्कार गर्नेसम्मका असहिष्णु र संकीर्ण गतिविधि गरेको बताए। “लोकतन्त्र श्रेष्ठ विकल्प हो, यसको विकल्प छैन। आशावादिता ठिक बाटो हो, यसलाई छोड्नु हुँदैन,” उनले थपे।

मुलुकमा निराशा फैलिनुको कारणबारे पत्रकार विमल गौतमको प्रश्नमा उनले भने, “केही फेसबुक, युट्युब र आँखामा कालो पत्ती बाँधेर हेर्ने दृष्टिकोण भएकाहरूले मुलुकलाई बदनाम गर्न खोजेका छन्। यो यथार्थ होइन।”

उनले विगतमा आफू प्रधानमन्त्री हुँदा सुरु गरेका महत्त्वपूर्ण आयोजना र कदमहरूलाई तीव्रताका साथ पूरा गर्ने दृढताका साथ सरकार अघि बढिरहेको बताए। साथै, युवाहरूलाई निराश नभई ‘हामीले आफ्नै देश बनाउन सक्छौँ’ भन्ने आशावादका साथ देशभित्रै केन्द्रित हुन आग्रह गरे।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस