२०८३ भाद्र १४ गते, आईतवार १४:५१

बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट दिन मस्कले मागे अनुमति, राहत तथा उद्धार कार्यमा प्रभावकारी हुनसक्छ स्टारलिङ्क

वीरगन्ज –

विनाशकारी बाढीपहिरोका कारण सडक, पुलसँगै सञ्चार संरचनामा समेत क्षति पुगेका बेला बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउन स्टारलिङ्कले गरेको प्रस्तावले राहत तथा उद्धार अभियानलाई ठूलो सहयोग पुग्ने सम्भावना देखिएको छ।

इलोन मस्कको भू–उपग्रहमा आधारित इन्टरनेट कम्पनी स्टारलिङ्कले नेपाल र तिब्बत सीमा क्षेत्रमा आएको बाढीप्रति दुःख व्यक्त गर्दै नेपाल सरकारबाट अनुमति प्राप्त हुनासाथ प्रभावित क्षेत्रमा आफ्ना उपकरण पठाएर निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने घोषणा गरेको हो।

कम्पनीले शनिबार सामाजिक सञ्जाल एक्समार्फत नेपाल सरकार तथा मानवीय सहायतामा संलग्न निकायलाई सहयोग गर्न आफूहरू तयार रहेको जनाएको छ।

‘अनुमति प्राप्त हुनासाथ नेपाल सरकार र मानवीय साझेदारहरूलाई सहयोग गर्न स्टारलिङ्कका उपकरणहरू पठाउन र निःशुल्क सेवा उपलब्ध गराउन हामी तयार छौँ,’ कम्पनीले जनाएको छ।

मोबाइल नेटवर्क अवरुद्ध हुँदा सञ्चारको विकल्प

बाढीपहिरोले सडक र पुल मात्र नभई विद्युत् तथा मोबाइल सञ्चार पूर्वाधारमा समेत क्षति पुर्‍याएको अवस्थामा उद्धार र राहतका लागि भरपर्दो सञ्चार सेवा अत्यन्त आवश्यक हुन्छ। प्रभावित क्षेत्रमा मोबाइल नेटवर्क अवरुद्ध वा कमजोर हुँदा उद्धार टोलीबीच समन्वय गर्न तथा प्रभावित नागरिकसँग सम्पर्क कायम गर्न कठिनाइ हुने गरेको छ।

यस्तो अवस्थामा भू–उपग्रहमा आधारित स्टारलिङ्क इन्टरनेटले परम्परागत मोबाइल तथा फाइबर नेटवर्कमा निर्भर नभई प्रभावित क्षेत्रमा सञ्चार जोड्ने वैकल्पिक माध्यम उपलब्ध गराउन सक्छ।

यसबाट सबैभन्दा ठूलो लाभ खोजी तथा उद्धार टोलीलाई पुग्न सक्छ। विभिन्न स्थानमा परिचालित उद्धार टोलीले एकअर्कासँग तत्काल सूचना आदानप्रदान गर्न, बेपत्ताको अवस्थाबारे जानकारी लिन तथा उद्धारको प्राथमिकता निर्धारण गर्न इन्टरनेटमार्फत समन्वय गर्न सक्नेछन्।

त्यस्तै, बाढी प्रभावित क्षेत्रमा खटिएका स्वास्थ्यकर्मी तथा मेडिकल टोलीले अस्पताल र अन्य स्वास्थ्य संस्थासँग सम्पर्क कायम राख्दै घाइतेको उपचार, औषधि तथा आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापनमा समेत यसको प्रयोग गर्न सक्छन्।

आफन्तसँग सम्पर्कविहीन परिवारलाई पनि राहत

विपद्को सबैभन्दा पीडादायी पक्ष आफन्त तथा परिवारसँग सम्पर्क टुट्नु हो। सञ्चार सेवा अवरुद्ध हुँदा प्रभावित परिवारले आफ्ना आफन्त सुरक्षित छन् वा छैनन् भन्ने जानकारीसमेत पाउन नसक्ने अवस्था आउँछ।

स्टारलिङ्कको निःशुल्क सेवा उपलब्ध भएमा प्रभावित क्षेत्रमा रहेका नागरिकले आफ्ना परिवार तथा प्रियजनसँग सम्पर्क गर्न, आफ्नो अवस्थाबारे जानकारी दिन तथा उद्धारका लागि सहयोग माग्न सक्नेछन्।

त्यस्तै, स्थानीय प्रशासन, सुरक्षाकर्मी, गैरसरकारी संस्था तथा मानवीय सहायता प्रदान गर्ने संस्थाबीच सूचना आदानप्रदान सहज हुँदा राहत सामग्री आवश्यक स्थानमा पुर्‍याउन र उद्धार कार्यलाई व्यवस्थित बनाउनसमेत सहयोग पुग्न सक्छ।

केही मिनेटमै इन्टरनेट सञ्चालन गर्न सकिने दाबी

स्टारलिङ्कका अनुसार उसका उपकरणहरू जडान गर्न सहज छन्। उपकरणलाई बक्सबाट निकालेर केही मिनेटमै इन्टरनेट सेवा सञ्चालन गर्न सकिने कम्पनीको दाबी छ।

यसका लागि मुख्य रूपमा विद्युत् आपूर्ति र उपकरणले खुला आकाश सिधै देख्न सक्ने अवस्था आवश्यक हुन्छ। त्यसैले सडक वा मोबाइल टावरजस्ता भौतिक पूर्वाधार क्षतिग्रस्त भएको दुर्गम तथा विपद् प्रभावित क्षेत्रमा पनि वैकल्पिक सञ्चार माध्यमका रूपमा यसको उपयोग हुन सक्ने देखिन्छ।

तर, प्रभावित क्षेत्रमा सेवा सञ्चालन गर्न नेपाल सरकारको अनुमति तथा आवश्यक नियामकीय प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ।

बाढीपहिरोपछि उद्धार टोलीहरू कठिन भूगोल र प्रतिकूल मौसमसँग जुधिरहेका बेला सञ्चार सम्पर्कलाई बलियो बनाउन सकिने स्टारलिङ्कको प्रस्तावले राहत अभियानमा नयाँ विकल्प थपेको छ। यदि तत्काल अनुमति र आवश्यक समन्वय हुन सकेमा निःशुल्क इन्टरनेट सेवा प्रभावित क्षेत्रमा उद्धार टोली, स्वास्थ्यकर्मी, प्रशासन र पीडित परिवारलाई जोड्ने महत्वपूर्ण ‘सञ्चार जीवनरेखा’ बन्न सक्नेछ।

प्रतिक्रिया

बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट दिन मस्कले मागे अनुमति, राहत तथा उद्धार कार्यमा प्रभावकारी हुनसक्छ स्टारलिङ्क

वीरगन्ज – विनाशकारी बाढीपहिरोका कारण सडक, पुलसँगै सञ्चार संरचनामा समेत

बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट दिन मस्कले मागे अनुमति, राहत तथा उद्धार कार्यमा प्रभावकारी हुनसक्छ स्टारलिङ्क

वीरगन्ज – विनाशकारी बाढीपहिरोका कारण सडक, पुलसँगै सञ्चार संरचनामा समेत

पोडकास्ट सुन्नुहोस