वीरगन्ज-
पर्सा जिल्ला बाल सुधार गृहभित्र सुरक्षा व्यवस्थालाई गिज्याउने गरी एक अमानवीय घटना बाहिर आएको छ। सुधार गृहभित्रै १० जनाको समूहले नयाँ आएका एक बाल कैदीको हातको कान्छी औंला काटेर अलग गरिदिएका हुन्।
सवारी अंगभङ्ग मुद्दामा बारा जिल्ला अदालतले मंगलबार धरौटी माग गरेकोमा, धरौटी रकम जुटाउन नसकेपछि १७ वर्षीय बालकलाई सोही दिन राति करिब ९ बजे पर्साको बाल सुधार गृहमा ल्याइएको थियो। सुधार गृहमा आवश्यक प्रशासनिक प्रक्रिया पूरा गरी राखिएका ती बालकमाथि राति करिब १० बजे नै पासविक हमला भएको हो।
राति १० बजेतिर अन्य माध्यमबाट घरपरिवारलाई घटनाको खबर पुगेपछि पीडित बालकका बुवा मुक्ति महतो तत्काल अस्पताल पुगेका थिए। अस्पतालमा छोरालाई भेटेपछि उनले भने, “सुधार केन्द्रमा रहेका ८-१० जनाको समूहले मेरो छोरालाई जबरजस्ती टेबलमा हात राख्न लगाएर कान्छी औंला काटिदिए।”
यस गम्भीर प्रकरणबारे जिल्ला बाल सुधार गृह पर्साका निमित्त प्रमुख एवं सूचना अधिकारी कृष्णप्रसाद साहसँग बुझ्दा उनले बाराबाट राति ९ बजे बालक आएपछि आफूहरू निवास फर्किएको र खबर पाउनासाथ नारायणी अस्पताल हुँदै नेशनल मेडिकल कलेजमा भर्ना गराएको बताए।
तर, घटनालाई सामान्य दुर्घटनाका रूपमा मोड्ने प्रयास गर्दै निमित्त प्रमुख साहले भने, “प्रारम्भिक अनुसन्धान गर्दा आँखा कम देख्ने एक बालकले उनलाई कोठामा लैजाने क्रममा गेटमा च्यापिँदा औंला कटेको हुन सक्छ।”
१० जनाको समूहले योजनाबद्ध रूपमा औंला काटेको पीडितको स्पष्ट बयान रहे तापनि प्रशासनले गेटमा च्यापिएको दाबी गर्दै घटनालाई ढाकछोप गर्ने प्रयास गरेको देखिन्छ। हाल पीडित बालकको औंला पूर्ण रूपमा हातबाट अलग भएको छ भने उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ।
क्षमताभन्दा बढी कैदी र मौलाउँदो आपराधिक गतिविधि
७० जना मात्र क्षमता रहेको पर्सा जिल्ला बाल सुधार गृहमा हाल १ सय १४ जना बालकहरूलाई कोचेर राखिएको छ। क्षमताभन्दा अत्यधिक संख्यामा बालकहरू राखिएका कारण भित्र आपराधिक गतिविधि र मनोमानी मौलाएको स्थानीयको भनाइ छ।
सुधार गृहभित्र यस्तो घटना पहिलो भने होइन। यसअघि पनि नयाँ आउने बाल कैदीहरूसँग रकम माग गर्ने र नदिएमा निर्मम कुटपिट गर्ने गरिएका घटनालाई लिएर तीन वर्षअघि कैदीहरूले आन्दोलन समेत गरेका थिए। बारम्बार यस्ता घटना दोहोरिनुले सुधार गृहको सुरक्षा र प्रशासनको फितलो उपस्थितिमाथि गम्भीर प्रश्न खडा गरेको छ।
घटनाको निष्पक्ष छानबिन गरी दोषीहरूमाथि कडा कारबाही गर्न पीडित परिवार र स्थानीयले जोडदार माग गरेका छन्।











