२०८२ असार १७ गते, मंगलवार १७:२०

काठमाडौँ-

गङ्गानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) नेकपा (माओवादी केन्द्र) मा समायोजन भएको छ ।

सोमवार ललितपुरको ग्वार्कोमा एक कार्यक्रमबीच श्रेष्ठ नेतृत्वको नेसपा माओवादी केन्द्रमा समायोजन भएको हो । समायोजन कार्यक्रममा माओवादी केन्द्रका महासचिव देव गुरुङले श्रेष्ठ नेतृत्वको नेसपा माओवादी केन्द्रमा समायोजन भएको घोषणा गर्नुभयो । साथै, उहाँले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र श्रेष्ठबीच पाँच बुँदे सहमति भएको घोषणा गर्नुभयो ।

उहाँकाअनुसार पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद, लेनिनवाद र माओवाद हुने र पार्टीको कार्यक्रम नेपाली विशेषता अनुरूपको समाजवादी क्रान्तिको हुने सहमति भएको बताउनु भयो । यस्तै उहाँले समाजवादी क्रान्तिका लागि परिस्थिति अनुसार सडक, सदन र सरकार लगायतका सबै प्रकारका आन्दोलनका स्वरूपलाई अवलम्वन गरिने र तत्कालका कार्यनीतिका विषयमा पार्टीभित्र छलफल र आपसी सहमतिको आधारमा तय गरिने सहमति भएको बताउनु भयो ।

साथै पार्टीमा विचारको स्वतन्त्रता र काम कारबाहीमा एकरूपताको जनवादी केन्द्रियता सैद्धान्तिक मान्यताअनुसार पार्टीलाई सञ्चालन गरिने र कतिपय वैचारिक विषयहरूमा महाधिवेशनसम्म पार्टी पङ्तीमा छलफल गर्न सकिने सहमति भएको उहाँले जानकारी गराउनु भयो । महासचिव गुरुङकाअनुसार श्रेष्ठलाई माओवादी केन्द्रको केन्द्रिय सचिवको जिम्मेवारी दिइएको छ ।

श्रेष्ठसहित १७ केन्द्रीय कार्यकारिणी सदस्य र करिब एक सय जना केन्द्रिय सदस्यहरू माओवादी केन्द्रमा समायोजन भएको बताइएको छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस