२०८२ श्रावण १६ गते, शुक्रबार ०५:०८

जनकपुर –

मधेश प्रदेश सरकारले कृषि क्षेत्रमा महिलाको सहभागिता बढाउँदै युगान्तकारी परिवर्तन ल्याउने उद्देश्यले १,४०० महिला कृषक स्वयंसेविका परिचालन गर्ने भएको छ।

मुख्यमन्त्री सतिशकुमार सिंहले ‘महिला कृषक स्वयंसेविका कार्यक्रम’ अन्तर्गत प्रत्येक वडामा एक जना महिला कृषक स्वयंसेविका परिचालन गरिने बताए। “स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविकाले जस्तै कृषि क्षेत्रमा पनि गाउँ-गाउँमा सेवा पु¥याउन यो कार्यक्रम लागू गरिएको हो,” उनले भने। “कृषकसँग प्रत्यक्ष सम्पर्कमा रही कृषि सेवा प्रदान गर्नेछौं, जसले मधेशलाई अन्न उत्पादनमा आत्मनिर्भर बनाउनेछ।”

मुख्यमन्त्री सिंहका अनुसार यो कार्यक्रमले रोजगारी सिर्जना गर्नुका साथै समृद्ध मधेश निर्माणमा योगदान पु¥याउनेछ। “मधेश श्रमको प्रदेश हो, वैदेशिक रोजगारीमा जानेको सङ्ख्या धेरै छ। अब कृषि क्षेत्रमा रोजगारी सिर्जना गरी युवालाई यतै श्रम खर्चिने वातावरण बनाउँदैछौं,” उनले थपे।

सरकारले स्वयंसेविकालाई कृषि प्रवद्र्धन, बिउ उत्पादन, किरा नियन्त्रण, र मल व्यवस्थापन जस्ता क्षेत्रमा तालिम दिएर कृषकलाई सेवा दिने जिम्मेवारी दिनेछ। यो योजनाले महिलालाई आर्थिक रूपमा सक्षम बनाउने लक्ष्य राखिएको छ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले १,४०० महिला कृषक स्वयंसेविका भर्नाका लागि जेठ १५ गते सूचना प्रकाशित गरी दरखास्त आह्वान गरेको छ। इच्छुक महिलाले १५ दिनभित्र नजिकको कृषि ज्ञान केन्द्रमा दरखास्त दिन सक्नेछन्।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस