२०८३ आश्विन १६ गते, शुक्रबार १६:२०

पर्साको ठोरीमा घर भत्काउँदै गाउँ पस्यो जंगली हात्ती

वीरगन्ज –

पर्साको ठोरी गाउँपालिका–४ मा जंगली हात्तीले आतंक मच्चाएपछि स्थानीय त्रसित बनेका छन्। पर्सा राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको हात्तीले रातको समयमा घर भत्काउनेदेखि स्थानीयलाई लखेट्नेसम्म गर्न थालेपछि बस्तीमा त्रास फैलिएको हो।

कुसुमवाटिका मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बुद्ध पाख्रिनका अनुसार गएराति गाउँ पसेको हात्तीले स्थानीयको घर भत्काउन खोज्दा भाग्ने क्रममा दुई जना घाइते भएका छन्।

घाइते हुनेमा ठोरी–४ की ७२ वर्षीया पाँचमाया स्याङ्बो र उनकी नातिनी छन्।

रातिको समयमा हात्ती सिधै घरतर्फ आएको देखेपछि सुरक्षाका लागि उनीहरू छिमेकीको घरतर्फ भागेका थिए। हात्तीले उनीहरूलाई पछ्याउँदै गएपछि छिमेकीको घरमा पस्ने क्रममा हात्तीले घरको पाली भत्काइदिँदा हजुरआमा र नातिनी घाइते भएको पाख्रिनले बताए।

‘हात्तीले उनीहरूलाई पछ्याउँदै गएको रहेछ। छिमेकीको घरमा पस्ने क्रममा हात्तीले घरको पाली नै फाल्दा हजुरआमा र नातिनी घाइते भएका हुन्,’ पाख्रिनले भने।

उनका अनुसार गएराति मात्रै हात्ती दुई पटक गाउँ पसेको थियो। हात्तीले स्थानीयको एउटा घरसमेत भत्काएको छ। घर भत्काउँदा भण्डारण गरेर राखिएको खाद्यान्नमा क्षति पुगेको छ भने उखुबालीसमेत नष्ट गरेको छ।

पाख्रिनका अनुसार गाउँ पसेको जंगली हात्ती निकै उग्र र आक्रामक अवस्थामा देखिएको छ। पछिल्ला केही दिनयता रातको समयमा लगातार हात्ती बस्ती पस्न थालेपछि स्थानीयमा थप त्रास बढेको छ।

हात्तीको आतंकका कारण स्थानीयलाई रातको समयमा घरबाहिर निस्कनसमेत जोखिम बढेको छ। गाउँमा जंगली हात्तीको प्रवेश नरोकिए थप मानवीय तथा भौतिक क्षति हुनसक्ने भन्दै स्थानीयले सम्बन्धित निकायसँग तत्काल नियन्त्रण तथा सुरक्षा उपाय अपनाउन माग गरेका छन्।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस