२०८३ आश्विन १६ गते, शुक्रबार १६:१९

नेशनल मेडिकल कलेज ‘मुन्ना भाइ MBBS’ शैलीमा चलेको सांसद अन्सारीको आरोप

बीरगन्ज—

बीरगन्ज भेडियाहीस्थित नेशनल मेडिकल कलेज एण्ड शिक्षण अस्पताल भारतीय चर्चित चलचित्र ‘मुन्ना भाइ MBBS’ को शैलीमा नक्कली डाक्टर र नक्कली बिरामीको भरमा सञ्चालन भइरहेको गम्भीर खुलासा भएको छ। प्रतिनिधि सभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य रहबर अन्सारीले प्रतिनिधि सभाको शून्य समयमा बोल्दै कलेज प्रशासनको यो नाङ्गो गोरखधन्दा र विद्यार्थीमाथिको ज्यादतीबारे कडा शब्दमा भण्डाफोर गर्नुभएको हो।

सदनमा सम्बोधन गर्दै बारा क्षेत्र नम्बर ४ का सांसद अन्सारीले विगत १० दिनदेखि नेशनल मेडिकल कलेजमा अध्ययनरत पोस्ट ग्राजुएट (PG) का विद्यार्थीहरू कलेजको मनोमानी र विकृतिविरुद्ध निरन्तर आन्दोलनमा रहेको जानकारी गराउनुभयो। कलेजको नाममा भइरहेको भ्रष्टाचार र फर्जी कामको भण्डाफोर गरेकै कारण आन्दोलनरत विद्यार्थीहरूलाई होस्टेलमा बस्न नदिइएको, अस्पतालमा काम गर्न प्रतिबन्ध लगाइएको र अस्पताल परिसरमै प्रवेश गर्न रोक लगाएर कलेज प्रशासनले चरम ज्यादती गरिरहेको उहाँको भनाइ थियो।

सदनमा कलेजको बदमासी उजागर गर्दै सांसद अन्सारीले भन्नुभयो, “नेशनल मेडिकल कलेजले कामै नलाग्ने करिब २५ जना नक्कली प्रोफेसर देखाएर पीजी सीट हात पारेको छ। झन् अचम्म त के छ भने चिकित्सा शिक्षा आयोगको टोली अनुगमनमा जाँदा कलेजमा कार्यरत सेक्युरिटी गार्डलाई नै इमर्जेन्सी वार्डमा सुताएर नक्कली बिरामी बनाई उपचारको नाटक मञ्चन गर्ने गरिएको छ।”

अस्पताल सञ्चालकहरूको उच्च राजनीतिक पहुँच र शक्ति प्रदर्शनका कारण स्थानीय प्रशासन समेत लाचार बनेको आरोप उहाँले लगाउनुभयो। विगतका मन्त्री तथा प्रधानमन्त्रीहरूसँग केक काटेर फोटो खिचाएकै भरमा जिल्लाका प्रमुख जिल्ला अधिकारी (CDO), प्रहरी प्रमुख (SP) र अन्य सरोकारवाला निकायहरूले यो अस्पतालमा हात हाल्ने र कारबाही गर्ने आँट नगरेको उहाँको दाबी छ।

सांसद अन्सारीले वर्तमान शिक्षा मन्त्रीको गम्भीर ध्यानाकर्षण गराउँदै मेडिकल शिक्षाजस्तो संवेदनशील क्षेत्रमा भइरहेको यस्तो ठगी धन्दा रोक्न र दोषी सञ्चालकहरूमाथि तत्काल कडा कानुनी कदम उठाउन जोडदार माग गर्नुभएको छ। साथै, कलेजको ज्यादतीका कारण बिचल्लीमा परेका आन्दोलनरत विद्यार्थीहरूको पठनपाठन, सुरक्षा र उचित व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी तत्काल सरकारले लिनुपर्ने स्पष्ट पार्नुभएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस