२०८३ श्रावण २० गते, बुधबार १२:१३

असुरक्षित श्रमले फेरि तीन मजदुरको ज्यान लियो, कार्यस्थल सुरक्षामा सरकारी निगरानी कमजोर

बाँके –

निर्माणस्थलमा न्यूनतम सुरक्षा मापदण्डको अभाव र सरकारी निकायको प्रभावकारी अनुगमन नहुँदा मजदुरहरूले ज्यान गुमाउने क्रम रोकिएको छैन। पछिल्लो घटनामा बाँकेको कोहलपुर नगरपालिका–३, शान्तिटोलस्थित निर्माणाधीन सेफ्टी ट्यांकीभित्र फसेर तीन मजदुरको मृत्यु भएको छ।

बुधबार बिहान करिब ९ बजे स्थानीय दयाप्रसाद थारुको निर्माणाधीन घरको आँगनमा बनिरहेको सेफ्टी ट्यांकीभित्र काम गरिरहेका मजदुरहरू एकपछि अर्को गर्दै फसेका थिए। उनीहरूलाई समयमै सुरक्षित रूपमा बाहिर निकाल्न नसक्दा घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा कोहलपुर–३ का करिब ४० वर्षीय कालु थारु, २६ वर्षीय प्रकाश थारु र ३३ वर्षीय बिर्जा थारु रहेका छन्।

प्रहरीले जेसीबी प्रयोग गरेर सेफ्टी ट्यांकी फुटाई तीनै जनाको शव बाहिर निकालेको थियो। शव परीक्षणका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएको छ।

यो घटनाले निर्माण क्षेत्रमा आधारभूत सुरक्षा उपकरण, विषाक्त ग्यास परीक्षण, अक्सिजनको अवस्था जाँच तथा उद्धार तयारीबिनै मजदुरलाई जोखिमपूर्ण काममा खटाइने प्रवृत्तिलाई फेरि उजागर गरेको छ। श्रम सुरक्षा सम्बन्धी कानुनी व्यवस्था भए पनि त्यसको प्रभावकारी कार्यान्वयन र नियमित अनुगमन नहुँदा यस्ता दुर्घटनाहरू दोहोरिने क्रम रोकिएको छैन।

श्रमिक अधिकारकर्मीहरूले निर्माणस्थलमा सुरक्षा मापदण्ड अनिवार्य रूपमा लागू गराउने, नियमित निरीक्षण गर्ने र लापरवाही गर्ने निर्माण कम्पनी तथा सम्बन्धित पक्षलाई कडा कारबाही गर्ने व्यवस्था प्रभावकारी नबनाएसम्म मजदुरको ज्यान जाने शृङ्खला नरोकिने चेतावनी दिएका छन्।

यस घटनाले कार्यस्थल सुरक्षा सुनिश्चित गर्ने सरकारी संयन्त्रको प्रभावकारितामाथि पुनः गम्भीर प्रश्न खडा गरेको छ। निर्माण क्षेत्रमा श्रमिकको जीवनभन्दा कामलाई प्राथमिकता दिने प्रवृत्ति अन्त्य गरी प्रभावकारी अनुगमन र कडा सुरक्षा मापदण्ड कार्यान्वयन गर्नु सरकारका लागि थप चुनौती बनेको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस