२०८२ भाद्र १ गते, आईतवार ०२:२०

मकवानपुर –

पछिल्लो समय मकवानपुरका किसानहरू ड्रागन फ्रुटको व्यवसायिक खेतीतर्फ आकर्षित भएका छन् । उत्पादन क्षमता, राम्रो आम्दानी र बजारमा बढ्दो मागका कारण कृषकहरू यस खेतीतर्फ उन्मुख भएको देखिन्छ ।

पदमपोखरीका किसान फेन्चु लामाले करिब १ बिघा क्षेत्रफलमा ड्रागन फ्रुट खेती गर्दै आएका छन् । उहाँले रेड साइन, सी भेराइटी, अमेरिकन ब्युटी र सेतो प्रजाति गरी चार जातका ड्रागन फ्रुट लगाएका छन् । लामाका अनुसार यसको आयु झन्डै १५ वर्षसम्म रहने गर्दछ ।

बजार र आम्दानी

ड्रागन फ्रुटको मुख्य माग वैशाखदेखि कात्तिक महिनासम्म भए पनि वर्षभर नै उत्पादन सम्भव हुने भएकाले बजार निरन्तर सक्रिय रहने लामाको भनाइ छ । अहिले ठूलो साइजको प्रतिकिलो ३५० रुपैयाँ र सानो साइजको ३०० रुपैयाँमा विक्री भइरहेको छ । एउटा बिरुवाबाट वार्षिक औसत २ किलोसम्म फल फल्ने र उत्पादन क्रमशः बढ्दै जाने गर्दछ ।

हालसम्म लामाले करिब २ हजार किलो ड्रागन फ्रुट उत्पादन गरिसकेका छन् । आगामी वर्ष वार्षिक ५ हजार किलो उत्पादन गर्ने लक्ष्य रहेको उहाँले बताए । हाल उत्पादन लागत प्रतिकिलो २५० रुपैयाँ पर्ने अनुमान गरिएको छ ।

बैंकबाट ऋण लिएर किस्ताबन्दीमा तिर्दै आउनुभएका लामा वार्षिक करिब ३० लाख रुपैयाँ आम्दानी गरिरहेका छन् । सम्पूर्ण खर्च कटाएर र ऋण किस्ता तिरेपछि वार्षिक ५ देखि १० लाख रुपैयाँ नाफा हुने गरेको उनको भनाइ छ ।

खेती गर्ने प्रविधि

लामाले आफ्नो फार्ममा टेलिसिस्टम र पोलिङ सिस्टम दुवै विधि प्रयोग गरेका छन् । टेलिसिस्टममा बढी स्याहार–सुसार आवश्यक पर्छ भने पोलिङ प्रणाली तुलनात्मक रूपमा सजिलो र व्यवहारिक मानिन्छ । बोटहरू पोल टु पोल ३ मिटर दूरीमा र ड्याङ ४ मिटर फराकिलो बनाएर रोपिन्छ ।

चुनौती र सरकारी सहयोग

ड्रागन फ्रुट खेतीमा बढी वर्षा हुँदा फंगल डिजिज (ढुसी रोग), कमिला लाग्ने र बिरुवा कुहिने जस्ता समस्या देखिने भएकाले विशेष सावधानी आवश्यक पर्ने लामाले बताए ।

उहाँका अनुसार हेटौंडा उपमहानगरपालिकाले सिंचाईका लागि पानीको व्यवस्था, टनेल निर्माण तथा पांगारिक मलमा सहयोग गरेको छ । साथै, कृषि एम्बुलेन्सको सुविधा पनि उपलब्ध गराइएको छ ।

प्रेरणादायी उदाहरण

हाल मकवानपुर जिल्लामा झन्डै एक सय किसान ड्रागन फ्रुट खेतीमा संलग्न छन् । राजधानी काठमाडौंसहित अन्य सहरहरूमा यसको माग उच्च रहँदा किसानहरूको उत्साह बढ्दै गएको छ ।

देशमा सम्भावना छैन भन्दै विदेशिने युवाहरूका लागि किसान फेन्चु लामा प्रेरणादायी उदाहरण बनेका छन् । गणितमा स्नातकोत्तर गरेर शिक्षण पेशाबाट सुरु गरेका लामा पछि भेटेनरी अध्ययन गरेर श्रीमती (कृषि जेटिए) संगै फार्म सञ्चालन गर्दै आएका छन् । फार्ममा हाल थप ४ जना कर्मचारी कार्यरत छन् ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस